
काठमाडौँ। विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।
बाढीको समाचार बाहिर आए लगत्तै बिहान १०:३५ बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबीच छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के-के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ
अर्को छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।
छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर-सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिहेको सचिवालयले जनाएको छ ।
