
निबन्ध
अन्तस्करणको चेत
बोधराज पौडेल
समयभन्दा बलवान् कोही हुँदैन । समयले सवैलाई उसको अनुकूल चल्नका लागि बाध्य गराउँछ । चाहेर पनि त्यसलाई बदल्न सकिदैन । उसको अनुकूलमा चल्नु नै हामी सवैको बुद्धिमानी हुन्छ । यो नै शाश्वत सत्य हो । यसलाई नकार्न सकिन्न ।
समयले समय आएपछि सवैलाई उसको मूल्य चुकाएर छोड्छ । समयसँग सम्बन्धि धेरै दृष्टान्त सुन्न र पढ्न पाइन्छ । यी मध्ये अहिले मेरो मानसपटलमा एक समय एक व्यक्ति आफ्नो व्यापारमा घाटा भएर टाट पल्टिएको दृष्टान्त अगाडि आएको छ । यो विषयले उसको चिन्ता यति बढाउँछ कि ऊ घरै छोडेर हिँड्न बाध्य भयो । यस्तो दयनीय अवस्थामा उसले ईश्वरको नाम जप्दै चौतारामा कावा खाएर दिन बिताउन थाल्यो ।
एवम् रितले समय बित्दै गयो । तीन चार दिन यसरी चौतारीमा बसेको देखेर एक साहुले पनि यसलाई के समस्या रहेछ बुझ्नुप¥यो भन्ने सोचेछ । यही सोचेर साहुले उसको समस्याबारे सोधेछ । व्यापारीले पनि उसलाई आफ्नो सवै वृत्तान्त सुनाएछ । त्यो कुराले साहुलाई दया लागेछ ।
साहुले भनेछ– ‘मेरो केही जग्गा छ, के कमाउँछौ त ?’ उसले पनि आफू समस्यामा परेकाले यस्तोबेलामा राहत हुने सोचेर ‘हुन्छ’ भन्ने उत्तर दियो । साहुले प्रश्न ग¥यो– ‘मेरो जग्गाको बदलामा तिमीले मलाई के दिन्छौ त ?’
साहुको प्रश्नमा व्यापारी भन्छ– ‘यो वर्ष म टुप्पोमात्र लिन्छु । बाँकी हजुरलाई ।’ साहुले व्यापारीको कुरामा सहमति जनायो । केही समयपछि उसको फसल पाक्यो । त्यो वर्ष उसले खेतीमा धान, गहुँ, कोदो, जुनेलो, कागुनो जस्ता बाली लगाउँछ ।
फसल पाकेपछि टुप्पा टिपेर बाँकी लिनका लागि उसले साहुलाई बोलायो । दाना, बाली सवै लिएको र आफूलाई बोटमात्र भागमा आएको देखेर साहु भन्छ– ‘ठीकै छ । म यो नै लिनेछु । तर, म ठगिएको महसुस गरिरहेको छु ।’
‘अर्को बाली पो के लगाउँछौ त ?’
‘त्यो त खै ! अहिले सोचेको छैन । तर, यसपालि हजुरलाई टुप्पा र फेद भयो । म बिचको लिउँला भन्यो ।’ यो पालि उसले मकैको खेती ग¥यो । त्यो पल्ट पनि साहुलाई बोटमात्र भाग प¥यो । बाली पाकेपछि उसले मकै भाँच्यो र ढोड लिनका लागि साहुलाई बोलायो । साहुले आफ्नो संंझौता अनुसारको भाग लियो । योपल्ट पनि साहुको भागमा अन्नको दानो परेन । यसले कति दिनसम्म ठग्दोरहेछ हेर्छु म पनि भनेर साहु चुपलागेर बस्यो । आफ्नो भागमा परेको ढोड लियो । एवम् रितले चल्दै गयो ।
अर्को बालीको बारेमा साहुले केही भनेन । व्यापारीले आफँै भन्यो–‘यसपालि माटामाथिको सवै हजुरलाई दिन्छु । म माटोमुनिको मात्र लिन्छु । हजुरले ठगिएको अनुभव गर्नुभयो । अब यस्तो नहोस् ।’
केही समयपछि उसले बारीमा पिँडालु, सुठुनी, तरुल, आलु जस्ता बाली लगायो । पाकेको बाली खनेर सवै भण्डार ग¥यो । पिँडालु, सुठुनी र आलुका बोट एक ठाउँमा थुपारेर राखिदियो । तरुलका लहरा थाक्रामा नै राखिदियो । फेरि साहुलाई बोलाएर लहरा र बोटमात्र जिम्मा लगायो । साहुलाई खाने कुनै कुरा प्राप्त भएन ।
यसपल्ट पनि साहुले केही बोलेन । अब मेरो बारी कमाउने कि नकमाउने भनेर सोध्यो मात्र । साहुको कुरामा व्यापारीले केही असहज अनुभव गरेन । उसले हाँसेर भन्यो– ‘यो वर्षमात्र कमाउँछु । अब बुढो पनि भएँ, सायद अर्को वर्ष कमाउन सक्दिन होला ।’
साहुले पनि भन्यो– ‘हुन्छ सकुन्जेल कमाएर खाउ । अब जे जे लगाउन मन छ, त्यो लगाऊ । मलाई केही दिनु पर्दैन । पहिला तिमीले मलाई दिएको कुनै पनि खर्च भएको छैन । सवै सँगालेर मैले त्यसै राखेको छु ।’ ऊ यो कुराले धेरै नै खुसी भयो । उसले आफूले केही अनाज र तुलफूल नदिएको भन्नेसमेत बिर्सियो ।
केही समयको अन्तरालमा त्यो व्यापारी बिरामी भयो । त्योबेला साहुले उसलाई भेटेर के कस्तो छ भन्ने हाल समाचार बुझ्यो । व्यापारीले आफू धेरैै कमजोर भएका कारण अब तग्न गाह्रो रहेको बतायो । साहुले खानेकुरा घरमा भएको÷नभएको बारेमा पनि जानकारी लियो । व्यापारीले खानेकुरा घरमा यथेष्टमात्रामा रहेको जानकारी दियो ।
हप्ता दिनपछि त्यो व्यापारी म¥यो । मृत्युपछि उसलाई यमराजका दूतहरूले लिएर गए । यमलोकमा पुगेपछि भोक लागेको हुनाले उसले खानेकुराको खोजी ग¥यो । यमका दूतहरूले पहिलोपल्ट पराल र नलका बोटहरू ल्याएर अगाडि राखिदिए । उसले कुनै खान सकेन किनकि ती मानवले खानका लागि सकिने खालका थिएनन् ।
ऊ भोकले आकुल भएर चिच्याउन थाल्यो । पुनः उसले खानेकुराका लागि आलाप ग¥यो । फेरि यमदूतहरूले ढोड ल्याएर राखिदिए । त्यो पनि उसले खान सकेन । भोकले आकुल भएर चिच्यायो– ‘म भोकले प्रताडित छु, खानका लागि केही देऊ र मेरो भोक शान्त गर ।’ उसको कुरा यमदूतहरूले सुने तर अरू दिनसक्ने अवस्था उनीहरूसँग थिएन ।
उसको आलाप निरन्तर रह्यो । खानका लागि केही देऊ ! त्यसको केही समयपछि उसको अगाडि पिँडालुका पात, तरुलका लहरा, सुठुनीका झाल राखियो । त्यो पनि उसले खान सकेन । फेरि खानाका लागि आलाप गरिरह्यो । उसको चीत्कार सुनेर जग्गाको साहु पनि त्यहाँ उपस्थित रहे । उनले ‘खाना कस्तो छ त ?’ भनेर सोधे । साहुको कुरा सुनेर ऊ अवाक भयो ।
त्यो व्यापारीले साहुलाई आफूले घाँसपात खान नसक्ने भएको हुनाले अन्य खानेकुराका लागि अनुरोध ग¥यो । उसका कुरा सुनेर साहुले भने ‘मसँग भएको र तिमीले मेरो बारी कमाएवापतमा दिएको कुरा यही हो । मैले यही नै तिम्रो लागि संगालेर राखेँ । तसर्थ, मसँग अरू केही छैन । म तिमीलाई अरू के दिन सकँुला र ? आखिर तिमीले मलाई राख्न दिएको पनि यही त हो, होइन र ?’
यतिभन्दा साहु स्वयम् ईश्वरको रूपमा परिणत भए । साहुको परिवर्तन भएको रूप देखेर व्यापारी चिन्तित भयो । उसले आफूले गरेको गलत काम झलझली स्मरण ग¥यो र ती कुराहरूप्रति मनमनै प्रायश्चित ग¥यो ।
आज हामी पनि कसैलाई यसरी नै ठग्न पाएकोमा प्रफुल्लित हुन्छौं । आफू बाठो र ऊ मुर्ख भएकोमा आनन्द मान्छौं । त्यसको परिणामका बारेमा हामी कहिल्यै सोच्दैनौँ । हामी त मात्र आफ्नो फाइदा हेर्छौं । स्वार्थपूर्तिका लागि लाग्छौं । हामी साहु भएर उदार हुनेबारेमा कहिल्यै सोच्दैनौँ । व्यापारी भएर अरूलाई ठग्नमात्र खोज्छौं । त्यसको परिणाम अप्ठ्यारो अवस्थामा पछुताउनुशिवाय अरू केही हुँदैन । यो नै दुःखको मूल कारण हो ।
आफ्नो फाइदा भइरहेको बेलामा हामी अरूलाई अन्याय भएको कहिल्यै सोच्दौनौं । जब काम बिग्रिएर आफैँँ त्यो भूमरीको चक्रमा घुम्न थाल्छौं अनिमात्र आफूले अरूलाई अन्याय गरेको महसुस गर्छौं । त्यो बेला समय क्षितिजभन्दा धेरै पर पुगिसकेको हुन्छ । यही परिणाम आज म मृत्युपर्यन्त भोगिरहेछु । व्यापारीले यस्तै कुरा मनमा गुनिरह्यो ।
त्यो ईश्वरमा परिवर्तन भएको व्यक्तिले उसलाई आपतको बेलामा सहयोग गरेर दुःखहरण गरेको थियो । त्यो साहुरूपी ईश्वरले पनि उसलाई हामीले जस्तो कर्म गर्छौं, जे राख्छौं, जे रोप्छौं त्यही पाउँछौं भन्ने कुराको ज्ञान दिएर अन्तरध्यान भयो ।
हामीले समय र अरूलाई जस्तो व्यवहार गर्छौं । आखिरमा प्राप्त गर्ने भनेको पनि त्यही त हो । तसर्थ भन्ने गरिन्छ– ‘जस्तो रोप्यो, त्यस्तै फल्छ ।’ सर्वे भवन्तु सुखिनः ।
