
अस्ट्रेलियामा रहेका नेपालीले देशमा हालैको बाढीपहिरोपीडितलाई राहतका निम्ति सहयोग जुटाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले ४१ हजार ९३ अस्ट्रेलियन डलर अर्थात् करिब ४५ लाख १२ हजार ७३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।
विभिन्न नेपाली समुदाय तथा संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरिएको आपत्कालीन गोफन्डमी अभियानमार्फत उक्त रकम संकलन भएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।
यसमा अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीसँगै नेपालका शुभेच्छुक, व्यवसायी, सामाजिक संस्था र अरू व्यक्तिहरूले पनि सहयोग गरेका छन् ।
संघका अनुसार, ३४८ दान प्राप्त भएका थिए । सानोठूलो रकमको परवाह नगरी गरिएको सामूहिक सहयोगले विपद्को समयमा विदेशमा रहेका नेपालीको मातृभूमिप्रतिको सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई पुनः उजागर गरेको संघले जनाएको छ ।
