
मुक्तक
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
१.
नलुकाउ कुरा मनभित्र खोल त्यति भए पुग्छ मलाई
धेरै ठुलो जोखिम बेकार नमोल त्यति भए पुग्छ मलाई
पर्दैन जबर्जस्त धन ,दौलत सम्पतिहरु केही पनि दिन
एक वचन तिमीले मिठो बोल त्यति भए पुग्छ मलाई !
२.
बाँकी जे जे छ, शब्दले मलाई रेटेर जाउ
थाह छ ,जाने बेलामा पाईला मेटेर जाउ
धेरै भो यो छातीमा, तिमीले परेड खेलेको
सक्छौ अन्तिम पटक मलाई भेटेर जाउ!
३.
क्षणिक माया देखाउनेसँग हारीसक्यो मन
तस्बिर देखे रिस पो उठ्छ टाढीसक्यो मन
अति भएरै होला अनि थकित भएरै त होला
दुखेरै दुख्दा दुख्दै अब दुख्न छाडिसक्यो मन !
४.
सम्झेर कहिल्यै हुन्न वचन वाणले छाती चिर्नेहरुलाई
कुरेर बस्नु आउँछ समय दिन्छ सजाय पिर्नेहरुलाई
पटकपटक धोका दिई जो गुमनाम बनी फरार हुन्छन्
मुटुमा राख्ने प्रयासै नगर्नु नजरबाट गिर्नेहरुलाई।
५.
आजकाल मलाई देखेपछि चोर जति कुना लुक्छन
मौका हेरी आफू नहुँदा निर्दोलाई मात्रै बाटो ढुक्छन
उनीहरुको फुर्सदमा दायाँबायाँ गर्न नपाएपछि
मेरो घरको कुकुर भुक्दा तलमाथि अरु नै भुक्छन !
६.
देखाउनु पर्ने भो असली औकात आफ्नै छिमेकीसँग
लिनैपर्ने भो सवालको जवाफ आफ्नै छिमेकीसँग
प्रत्येक पटक काँडा जस्तै वचन वाणले घोचेपछि
राख्नुपर्ने भो हिसाब किताब आफ्नै छिमेकीसँग !
