
काठमाडौं ।नेपालमा चराचुरुङ्गी तथा जैविक विविधता संरक्षणका लागि फोटोग्राफीलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ। नेपाल पक्षी संरक्षण संघ (BCN) को आयोजनामा आज आयोजित संरक्षणसम्बन्धी कार्यक्रम तथा फोटो अवार्ड समारोहमा सहभागी वक्ताहरूले प्रकृति र चराचुरुङ्गी संरक्षणमा फोटोग्राफरहरूको योगदान महत्वपूर्ण रहेको बताएका हुन्।
कार्यक्रममा प्रमुख अतिथि विमल श्रेष्ठलगायतले चराचुरुङ्गी तथा प्रकृतिप्रति जनचेतना अभिवृद्धि गर्न फोटोग्राफीले महत्वपूर्ण भूमिका खेल्ने बताए। फोटोग्राफीमार्फत प्रकृति, चराचुरुङ्गी र तिनको बासस्थानबारे आम नागरिकलाई जानकारी गराउन तथा संरक्षण अभियानसँग जोड्न सकिनेमा उनीहरूले जोड दिए।

कार्यक्रममा नेपालमा बर्ड वाचिङ तथा पक्षी संरक्षणको विकासक्रमबारे समेत चर्चा गरिएको थियो। सन् १९९५ मा नेपाल बर्ड वाचिङ क्लबको सुरुवात भएको र पछिल्लो समय पक्षी अवलोकन तथा संरक्षण गतिविधि विस्तार हुँदै गएको जानकारी दिइएको थियो।
वक्ताहरूले नेपाल जैविक विविधताका दृष्टिले निकै समृद्ध रहेको उल्लेख गर्दै सानो भौगोलिक क्षेत्रमा समेत ठूलो संख्यामा चराचुरुङ्गी तथा अन्य वन्यजन्तु पाइने बताए। हर्बेरियम, साना स्तनधारीलगायत जैविक विविधतासम्बन्धी ज्ञान र अध्ययनलाई संरक्षणसँग जोड्नुपर्नेमा पनि जोड दिइयो।
कार्यक्रममा ‘बर्ड फ्लु’ लगायतका विषयमा वैज्ञानिक तथा प्रमाणमा आधारित जानकारी आवश्यक रहेको बताउँदै पक्षी संरक्षणलाई विज्ञान, वातावरणीय अध्ययन, पारिस्थितिकी र अर्थतन्त्रसँग समेत जोडेर अघि बढाउनुपर्ने धारणा राखिएको थियो।

कार्यक्रममा चराचुरुङ्गीको संरक्षणका लागि कठिन भूगोल र प्रतिकूल मौसमको समेत सामना गर्दै तस्बिर खिच्ने फोटोग्राफरहरूको योगदानको प्रशंसा गरिएको थियो। उनीहरूले खिचेका तस्बिरले दुर्लभ प्रजाति तथा तिनको बासस्थानबारे जनचेतना फैलाउन सहयोग पुर्याउने वक्ताहरूको भनाइ थियो।
समारोहमा दुर्लभ प्रजाति (Rare Species) फोटो अवार्ड समेत प्रदान गरिएको थियो। अवार्डमा प्रथम स्थान रिजान शिल्पकार, द्वितीय स्थान ईश्वर गुरुङ र तृतीय स्थान अमिस केजीले प्राप्त गरेका छन्। त्यसैगरी दुर्लभ प्रजातितर्फको अवार्ड चुडा मणि चौधरीलाई प्रदान गरिएको कार्यक्रममा उल्लेख गरिएको छ।
कार्यक्रममा निर्णायक मण्डलमा राजेन्द्र सुवाल, पवन राई र सञ्जु राजा बज्राचार्य रहेका थिए।
कार्यक्रममा BCN का संरक्षक, पदाधिकारी तथा प्रकृति र पक्षी संरक्षणमा सक्रिय फोटोग्राफरहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संरक्षणका विषयमा आफ्ना अनुभव तथा दृष्टिकोणसमेत प्रस्तुत गरेका थिए।








