
काठमाडौं । काठमाडौं उपत्यकासहितको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच विवाद भएको छ ।
शुक्रबार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले बञ्चरेडाँडमा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल राखेका थिए ।
उक्त छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङबीच चर्काचर्की परेको हो । सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद सुरु भएको हो ।
बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाए । उनले स्थानीय तहहरूमाथि खनिनुभन्दा फोहोर व्यवस्थापनको इतिहास अध्ययन गर्न समेत सांसद तामाङलाई आग्रह गरे ।
“हेर्नुस्, तपाईंको कुरा धेरै आक्रमक छ, यसरी हुँदैन । फोहोरमैला व्यवस्थापनको इतिहास पनि अध्ययन गर्नुपर्छ,” उनले भने ।
लगत्तकै सांसद तामाङले ‘छलफल यहाँ नभई बञ्चरेडाँडामा हुन्छ’ भन्दै टेबल ठोकिन् ।
स्थानीय तहका प्रमुखहरूसँगको विवाद उत्कर्षमा पुगेपछि सांसद तामाङ छलफल कक्षबाट बाहिरिइन् ।
सांसद तामाङ बाहिरिएपछि स्थानीय तहका प्रमुखहरूले कार्यक्रम संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरे ।




