
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका छन् । उनले भने, ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्दछु ।’

‘यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु ।’राष्ट्रपति पौडेलले अपिलमा भनेका छन् ।
