
काठमाडौँ। सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा नेपाल बार एसोसिएसनले दिउँसै लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।
लालटिन बाल्न आयोजित सभामा नेपाल बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका कर्मचारीले समानान्तर प्रशासन चलाएको आरोप लगाए । इतिहासमै नभएको घटना यतिबेला भएको उनको भनाइ छ ।
‘कर्मचारीबाट समानान्तर प्रशासन चलाउने इतिहासमै नभएको घटना भएको छ । न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीका लागि बारले जस्तोसुकै कदम उठाउन पनि तयार छ,’ बार अध्यक्ष मिश्रले भने, ‘संसद्ले पनि संविधानको धारा १०५ को पालना गरोस् ।’
मिश्रले बारका सल्लाहकारसँग छलफल गरी आगामी विरोधका कार्यक्रम अघि बढाउने पनि बताए ।




