
काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन् । चाडपर्वको समयमा एकअर्का ब्रान्डका सिलिन्डर सट्टापट्टा गर्न नपाएर उपभोक्ताले सास्ती खेप्नुपरेको गुनासो आएपछि नेपाल एलपि ग्यास उद्योग सङ्घले यस्तो व्यवस्था गरेको हो।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा आगामी असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म उपत्यकाका ६ वटा निश्चित स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने सङ्घले जनाएको छ । यी केन्द्रहरूबाट प्रत्येक दिन बिहान ९ः ३० बजेदेखि अपराह्न ४ः ३० बजेसम्म सेवा लिन सकिनेछ।
भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात नियमित भइरहेको र गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको सङ्घले स्पष्ट पारेको छ। आपूर्ति सहज भए पनि चाडबाडका बेला खाली सिलिन्डर साटफेरमा देखिएको समस्या समाधान गर्न यो विशेष व्यवस्था गरिएको सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


