
काठमाडौँ । यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानडेली कवि एनी कार्सनलाई दिने निर्णय भएको बिहीबार स्विडिस एकेडेमीले घोषणा गरेको छ ।
उनले ग्रीक पौराणिक कथा र प्राचीन काललाई आधुनिक शैलीमा प्रस्तुत गरेर समकालीन लेखनका नयाँ रूपहरूलाई प्रेरित गरेको एकेडेमीले जनाएको छ ।
सन् २०२४ मा आफूलाई पार्किन्सन रोग भएको घोषणा गरेकी ७६ वर्षीया कार्सनलाई ‘शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि’ यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।
कार्सनको जन्म सन् १९५० मा क्यानडाको टोरोन्टोमा भएको हो । सन् १९८१ मा उनले शास्त्रीय साहित्यमा विद्यावारिधिको शोधप्रबन्ध प्रकाशित गरेकी थिइन् । उनले कविता लेखनसँगसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आएकी छन् । एकेडेमीकी स्थायी सचिव इन्ग्रिड कार्लबर्गले कार्सनसँग छोटो कुराकानी भएको बताए ।
कार्लबर्गले भने, “हामीसँग धेरै समय कुरा गर्ने अवसर थिएन । उहाँले मलाई भन्न पाएको कुरा यति मात्र थियो कि उहाँ अहिले आइसल्याण्डमा हुनुहुन्छ र यो सूचनाले आफू अचम्मित भएको तर अत्यन्त खुसी हुनुभएको छ । मैले उहाँको आवाजबाट उहाँको खुसी महसुस गर्न सकेँ ।”
कार्सनले १५ वर्षभन्दा बढी समयदेखि वर्षको केही समय आइसल्याण्डमा बिताउने गरेकी छन् । आइसल्याण्डिक प्रसारक आरयूभीका अनुसार उनले आइसल्याण्डको नागरिकता पनि लिएकी छन् ।
उनको अद्वितीय समकालीन कविताले सन् १९९० को दशकमा उनलाई धेरै प्रमुख साहित्यिक पुरस्कार दिलाएको थियो । यसमा सन् १९९६ को ‘ल्यानन अवार्ड’ र सन् १९९७ को ‘पुशकर्ट अवार्ड’ समावेश छन् ।
एक वर्षपछि उनको ग्रीक पौराणिक कथाको राक्षस ‘गेरियोन’ र ‘हेराक्लेस’को कथामा आधारित तर समलिंगी प्रेम त्रिकोणको आधुनिक कथामा रूपान्तरित ‘अटोबायोग्राफी अफ रेडः ए नोभल इन भर्स’ले व्यापक प्रशंसा प्राप्त गरेको थियो ।
एकेडेमीले यसलाई ‘महान भावनात्मक गुणहरू भएको महाकाव्य र कविताको शानदार रूप’ भनेको छ ।

