
काठमाडौँ। उपन्यासकार देवी घिमिरेको उपन्यास ‘मनझोली’ को लोकार्पण भएको छ ।
राजधानीमा उपन्यास समाज,नेपालको आयोजनामा शनिवार आयोजित एक कार्यक्रमबिच प्रा.डा.हेमनाथ पौडेल,श्रीओम श्रेष्ठ रोदन,सन्तोष श्रेष्ठ,लिलादेवी गर्तौला लगायतले लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.पौडेलले साहित्य लेखनमा समाजमा अनेकानेक विषयबस्तु भएको भन्दै ती कच्चा सामाग्रीबाट जे पनि बनाउन सकिने बताए । उनले उपन्यासका माध्यमले बुबाआमाको जीवनसँग सम्बन्धित कथाबस्तुलाई आख्यानीकरण गरिएको बताए । उनले उपन्यासको कथाबस्तु र शिर्षक मौलिक भएको पनि बताए ।
अर्का बक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रा.डा.गोविन्दराज भट्टराईले भनेको कुरा उद्दृत गर्दै भने , ‘उपन्यास नलेखी साहित्यकार हुन सकिंदैन् । उपन्यास पठनीय छ । यथार्थको सन्निकट छ ।’
कृतिमाथि समीक्षा गर्दै तोयानाथ भट्टले भने, ‘छोरीले उपन्यासको माध्यमबाट आफ्ना आमाबुबाको अनुभव र संघर्ष तथा भोगाइलाई पर्गेलेर लेखिएको उपन्यास पठनीय छ । उनले उपन्यासले सामाजिक यथार्थलाई आत्मसाथ गरेको छ । दाताराम र नरमायाको सँघर्षको कथा हो उपन्यास ।’
अर्का समीक्षक निमग्न घिमिरेले आजभन्दा असिबर्ष अघिदेखिको समाजको चित्रण उपन्यासले गरेको बताइन । उनले उपन्यास यथार्थपरक रहेको कुरामा जोड दिइन । उनले मानव जीवनको पारिवारीक जीवनको सत्यापन उपन्यासले गरेको भन्दै बहुल पात्र,विभिन्न स्थान र परिवेशको चित्रण गर्न उपन्यास सफल भएको बताइन ।
सन्तोष श्रेष्ठले वालविवाह,नारी पीडा लगायतको चित्रणले रुपमति जस्तो लाग्छ,उपन्यासमा बसाईँसराईँको कथा हेर्दा लिलबहादुरको बसाइँजस्तो ,अनि मुलुक बाहिर जस्तो लाग्ने कृति जीवन दर्शन,मानवता आदि हेर्दा शिरिषको फूल जस्तो लाग्ने बताए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव लिलादेवी गर्तौला, उपन्यासकारका बयोबृद्ध पिता दाताराम घिमिरे,बन्धुराज शर्मा घोरासाइने,प्रकाश तिवारी लगायतले मन्तव्य व्यक्त गरे ।
हालसम्म आधा दर्जन गीत समेत रेकर्ड गरेकी उपन्यासकार देवी घिमिरेले आफ्नो साहित्यिक लेखनी यात्राको बारेमा जानकारी दिंदै उपन्यास लेख्न पाँच वर्ष लागेको बताइन ।
उपन्यास समाज,नेपालका अध्यक्ष शंकर भारतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन देवी पराजुलीले गरिन।







