
कविता
जिउँदो शल्यक्रिया
एलिसा ढुंगाना
म जन्मँदा
घरको हाँसो चुल्होको खरानीजस्तै
भुइँमा झर्यो ।
र तिमीले आँखा तेर्सायौ
“फेरि छोरी?”
त्यसै दिन
तिमीले मेरो नाम राख्यौ
– झन्झट ।
त्यसपछिको मेरो रात
भोकले होइन
अपमानको गह्रुङ्गो ढुङ्गाको
सिरानीले बिथोल्थ्यो ।
मेरो बिहान
दूध उम्लिएको
आवाजले होइन,
तिम्रो रिसको सिठीले बिउँझिन्थ्यो ।
हरेक दिन -जति घामले
आकाशको उकालो चढ्थ्यो,
त्यसभन्दा माथिबाट
तिरस्कारको पहिरो खस्थो
म चिच्याउनै नसक्ने गरी
डाँडाभित्रको खोँचमा पुरिन्थेँ ।
मैले बोल्ने सत्यका शब्दहरु
तोतेबोली बोल्न नपाउँदै
डरैडरको अञ्जुलीमा भरिए ।
तातेताते हिड्ने मेरो पैतला
बामे सर्न नपाउँदै रोकिए ।
ताकी मैले हिँड्न
र बोल्न सिकेर
झुटको मुकुन्डो खोल्न
र सत्य उजागर गर्न नसकुँ ।
कहिलेकाहीँ त लाग्छ ,
तिम्रो जीवनभरको
रिसको पोको
-म नै हुँ।
तर म
तिमीले कहिल्यै महसुस नगरेको
आफ्नै घाँटीमा अड्काएर
आफ्नै प्रेम ।
चुपचाप तिमीसँग रमाउने
तिम्रो अस्तित्व जोगाउने
मायाले सुम्सुमाउने
हरेक चोटपछि अर्को चोट सहिरहने
र, मेरो लाज
तिम्रो इज्जतको सिलाइ मेसिनमा सिलाइरहने ।
तिम्रो घर जोगाउन आफ्नो मनको घर भत्काउने
तिम्रै अधुरोपन हो ।
यसमा मेरो के दोष ?
तिमीले देखेकै छौ
तिमीलाई जोगाउन
र आफूलाई बचाइराख्न मैले हरेक दिन
जिउँदै शल्यक्रिया गर्नुपरेको छ ।
आफ्नै मुटु धेरैपटक काटेर फ्याँक्नु परेको छ ।
तैपनि तिमी खबदार गर्छौ ,
“तँ लडिस् भने मेरो इज्जत लड्छ ।”
म भन्छु, म लड्दा
इज्जत होइन, अत्याचार भाँचिन्छ ।
किनकि तिमी नै मेरो खुसिको सिङ्गो समाज हौ ।
म त , तिम्रै फैसलामा –
इतिहास बदल्न जन्मिएकी हुँ ।
तिम्रो कमजोरी र अपराधमा डराउन होइन ।
र, त मभित्रका
हजारौँ अबगुण निकालेर
जब म आफूलाई नै माफ गर्न सक्दिन भने
तिम्रै काखमा मेरो नाम फेरिन्छ भने
तिमीलाई म कसरी माफ गरूँ ?







