
काठमाण्डौ ।बेलायतमा बसेर नियात्रा, कविता, गीत, उपन्यासमा निरन्तर क्रियाशिल स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ।
आइतवार ललितपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ महाकाव्यकार खेमनाथ दाहाल,साहित्यकार प्रगति राई, कीर्तिमानी सङ्गीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ,लगायतले एकसाथ लोकार्पण गरेका थिए ।
प्रमुख अतिथि रोदनले हल्ला खल्लाका आधारमा चर्चित बनेका कतिपय साहित्यकारहरुको अस्तित्व सदैव स्थिर हुन नसक्ने भन्दै काव्यिक स्वधर्म र सिर्जनशील चिन्तनमा लगातार प्रवाहित भइरहने स्रष्टाहरुको सुदुर गन्तव्य सुनिश्चित रहने बताए । पुरस्कार,प्रतियोगिता र हल्लाखल्लाका भरमा स्थापित हुने रहर पाल्ने कतिपय सर्जकहरुको भीडमा केदार सङ्केत फरक रहेको बताए ।
उनले प्रयोगवादी शैली, विषवस्तुको विविधता कथानकमा गम्भीरता जस्ता विशेषताले गर्दा राम्रा कृतिका लागि हल्ला गरिरहनु नपर्ने समयको प्रवाहले आफैं मूल्यांकन गर्दै सिर्जनशील कर्मको बलमा आफैँ चर्चाको चुली चढ्दै जाने बताए ।
कृतिमाथि परिचर्चा गर्दै साहित्यकार प्रगति राईले केदार सङ्केतको कतिपय कथाहरु यदाकदा पढ्न पाइएको तर्फ इङ्गित गर्दै अलिक फरक धारमा आएको कथाले समाजको यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएको बताइन् । उनले केदारका लेखन शील्पसँग आफू परिचित रहेको बताउंदै कृतिका रुपमा आइपुग्दा यथेष्ट रुपमा परिमार्जित र अवस्था परिष्कृत रुपमा आएको बताउइन।
कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै हो ।आकर्षक कलेवरर साजसज्जामा आएको पुस्तकका बारेमा श्रीओम श्रेष्ठ ‘रोदन’ रोचक घिमिरे जस्ता मूर्धन्य साहित्यकारहरुको भूमिका रहनु कृतिको स्तरीयताको मापन रहेको बताए ।
कृतिकार केदार सङ्केत कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसकेपनि भिडियो कल मार्फत लेखकीय मन्तव्य व्यक्त गरेका थिए । लेखकका लागि पाठकहरुको प्रतिक्रिया नै पुरस्कारका रुपमा रहने बताउँदै यथोचित प्रतिक्रियाका आधारमा आगामी लेखन कर्ममा परिमार्जन गर्दै अघि बढ्ने बाचा गरे ।
सो अवसरमा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे,साहित्यकार तथा सुनुवार सेवा समाजका उत्तम कातिज लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यकार तथा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालद्वारा स्वागत गरिएको उक्त कार्यक्रमको सहजीकरण गीता अधिकारीद्वारा गरिएको थियो ।
मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको प्रायोजनमा उक्त कार्यक्रम भएको थियो ।






