
कविता
रुपा रिसाल
यमदूत
चन्द्रका शेष नअस्ताउँदै सवेरै
सातै सेता वायुपङ्खी अश्वहरु
टकटक अभयसँग अवतरित
कोटी सूर्यका तेजहरू फैलाउँदै
तरङ्गीत भूजाहरुमा समाहित
पञ्चायन देवताको पूजनमा
शंख घण्टाको ध्वनि बज्दै गर्दा
सरस्वतीले आरति बन्दना गाउँदै
बाशिष्ट सहित सप्तऋृषिहरु
वैदिक मन्त्र उचारण सहित
पृथ्वी लोकमा हाम्रा घर आए ।
मुखारविन्दमा भागवत पाठ गर्दागर्दै
यज्ञशालामा अनन्य चरु हाल्दाहाल्दै
अग्निमा सम्मिलित समेदाका धुपले
सुगन्धित मधुर रागका अनुष्ठानमा
कृष्णजी मसक्क मुस्कुराउनु भयो
राधे राधे गोविन्द गोविन्द राधे जप्दै ।
मन, वचन र कर्ममा ईश्वरीय शक्ति
दायाँबायाँ पाखुरामा चक्र छाप डामी
मुहारका अजश्र तेजको ज्योतिमा
हातमा तुलसी जपमाला उनिरहँदा
नयनका सूक्ष्म चक्षुसँग सम्मोहित
यमदूत भावहरु लालायित भएछन् ।
युगको अन्तयतिर राजगद्दी चयनमा
ईन्द्रको आशनमा राजका निमित्त
धर्म राज्यका संरक्षणका खातिर
भावि ब्रह्माण्डमा छुट्टै न्यायमण्डल
विशाल साम्राज्यको पुनः स्थापनामा
यमदूतहरु पुष्प विमान लिएर आए ।








