
काठमाडौं । कथा, लघुकथा र समीक्षामा कलम चलाउँदै आएका सर्जक खेमराज पोखरेलको उपन्यास ‘नागफणी’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
श्रीओम श्रेष्ठ रोदन,शंकर भारती,डा.यादबप्रकाश लामिछाने,उपन्यासकार पोखरेल लगायतले उक्त कृति लोकार्पण गरे ।
उपन्यासकार समाज नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले धेरै पुस्तक लेख्नु मात्र ठूलो कुरा नभएको भन्दै लेखनीमा लेखकस्व कति छ,प्रतिवद्धता के हो भन्ने कुराले अर्थ राख्ने बताए । पुस्तक निस्कने दिन खुशी बाँड्ने दिन हो भन्दै रोदनले नेपाली साहित्यमा देखिएका विकृतिहरु औल्याए ।
उपन्यास बारे चर्चा गर्दै प्रा.डा.लामिछानेले उपन्यासको आयाम कत्रो छ भन्ने कुराले भन्दा उपन्यास पूर्ण छ कि छैन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस हिसावले खेमराजको उपन्यास पूर्ण रहेको बताए । ‘औपन्यासिक सौन्दर्यले भरिएको,उखान टुक्काहरुको प्रयोग गरिएको,यावत मान्छेले भोगिरहेको डायस्परिक व्यथा जहाँ पारीवारिक विखण्डन रहेको छ ।’ उनले भने ।
सुनिल अधिकारीले उपन्यास अमेरिकी सपना देख्ने नयाँ पुस्ताले पढ्नुपर्ने बताए ।
अनुपमा रेग्मीले संक्षिप्तता र सुक्तिमयता उपन्यासमा प्रयोग गरिएको भावानुभूतिसहितको सन्देश प्रवाह गर्ने विषयवस्तु रहेको बताइन ।
कार्यक्रममा साहित्यकारहरू पवन आलोक, ब्रजेश भट्टराई, डा. दीनबन्धु शर्मा र शंकर भारतीले कृतिमाथि आफ्ना धारणा राखे ।
विमल कोइरालाको स्वागतमा सम्पन्न कार्यक्रमको उपन्यासकार उषा केसीले सञ्चालन गरिन ।
कार्यक्रमको सहआयोजक उपन्यास पुस्तकालय रहेको छ ।
