
नेपालका मौलिक दार्शनिक भगवान् गौतम बुद्ध प्रणीत ध्यानको अभ्यास वर्तमान समयमा विश्वव्यापी बनेको छ । बुद्ध र ध्यान नेपालका गौरव हुन् । यद्यपि बुद्धको सन्देश र ध्यानको अभ्यासबाट हामी अधिकांश नेपाली नै लाभान्वित हुन भने बाँकी छ । यो आलेखमा बुद्धको शिक्षालाई बुझ्ने, मनन गर्ने र व्यवहारमा अपनाउने गर्दा, बुद्ध देशित ध्यानको अभ्यास गर्दा हामीलाई व्यक्तिगत स्तरमा र परिवार एवं सामाजिक तहमा कसरी सौहार्दता विकसित गर्न सकिन्छ भनी चर्चा गरिनेछ ।
ध्यानको अभ्यासद्वारा बुद्धलाई ज्ञानोदय भएको थियो । बुद्धले आफूलाई, जीवन र जगत्लाई चिन्न सक्नुभयो । बुद्धको जीवनमा रूपान्तरण आयो । सिद्धार्थ गौतम मानिसबाट महामानव हुनुभयो, बुद्ध हुनुभयो । आजपर्यन्त बुद्धले सुझाएको ध्यान देशना संसारभरीका सयौं विश्वविद्यालयमा अध्ययन अध्यापन गरिन्छ । बुद्ध प्रणीत ध्यान र देशना यसप्रकार विश्वव्यापी हुनुको कारण छ । कारण यसप्रकार छ ।
जर्मन दार्शनिक फ्रेडरिक नित्सेको दर्शन कुनै समयमा विश्वव्यापी चर्चामा थियो । उनको बारेमा भनिन्थ्यो – ुतपाइँ छिटै नित्सेको कुरा गर्न सक्ने हुनुहोस् या समाजबाट रिटायर्ड हुनुहोस् ।ु इन्डिभिज्युअलिज्म अर्थात् व्यक्तिवाद सर्वत्र हावी भएको समय थियो त्यो । नित्सेलाई पोष्टमोडर्निजम ९उत्तरआधुनिकता वाद० का जनक समेत भनिन्छ । यद्यपि व्यक्तिवादले समाजलाई सम्पूर्ण रूपमा स्वार्थी बनायो । मानवीय मूल्य मान्यता समाजबाट विलीन भए । स्वार्थका लागि मानिसले धर्म, संस्कृति, इतिहास र परम्परालाई तिलाञ्जली दिन थाले । मानवताको खडेरीले अन्ततः पारिवारिक विखण्डनको स्थिति समेत पैदा भयो । यो संगीन परिस्थितिबाट व्यक्ति, परिवार र समाजलाई उद्धार गर्न बुद्ध देशित ध्यान प्रभावी सावित भयो । ध्यानको अभ्यासले मानिसको चित्त शुद्ध हुन्छ । ध्यानद्वारा चित्तलाई दूषित बनाउने लोभ, क्रोध र अहंकार हट्छ । तदनन्तर मानिस अरूलाई पनि आफूजस्तै देख्न र समान व्यवहार गर्न सक्ने हुन्छ । मानिस परिवार, समाज र देशका संस्कृति एवं मूल्य मान्यताको महत्ता देख्न सक्ने हुन्छ । परिणामतः मानिसको मनमा शान्ति, प्रेम र करुणा जागृत हुन्छन् । उसको मन आनन्दित हुन थाल्छ र अरूको कल्याणको कामना पैदा हुन थाल्छ ।
ध्यानको अभ्यासद्वारा क्रमशः चित्त शुद्धि हुन थालेपछि मानिसले निष्काम कर्म गर्न थाल्छ । निष्काम कर्म भनेको मनमा लोभ, क्रोध या अहंकार नराखीकन कर्म गर्नु हो । यसरी कर्म गर्दा चित्त शुद्धि हुन्छ । कर्म निष्काम हुन सकेन अर्थात कामनायुक्त कर्म भयो भने चित्त अशुद्ध हुन्छ । जसको हाम्रो जीवनमा दूरगामी प्रभाव रहन्छ । कर्म गर्दा, जिम्मेवारी पूरा गर्दा अनेक प्रकारका झमेला आईलाग्छन् । यद्यपि कर्तव्य पालना गर्दा मन शान्त हुन्छ, समझदारीसाथ कर्म गर्दा सुकून मिल्दछ । यदि यसरी कर्म गर्दा चित्त शुद्ध हुँदैन भने, विवेक जाग्दैन भने, समझ विकसित हुँदैन भने यसको अर्थ हो हामी काम गर्दा कामनामा अन्धो भएर काम गरिरहेका छौं । आफैंप्रति इमान्दार भएर कर्म गर्न सिक्नु र कर्मद्वारा चित्त शुद्धि हासिल गर्नु यस जीवनकै महान् उपलब्धि सावित हुन सक्छ ।
भगवान् बुद्ध देशित ध्यानको दर्शन र अभ्यास विधि बुझ्न सरल छ । बुद्धले भन्नुभएको छ मानिस जन्मजात बुद्धत्वको स्वभाव लिएर पैदा भएको हुन्छ । हरेक बालक या बालिकाको निश्चल, निर्दोष मुहारमा बुद्धत्व नै झल्कन्छ । यद्यपि हुर्कने, बढ्ने क्रममा जीवनका जटिलताहरूले मनमा राग, द्वेष र मोह पैदा हुन्छन् । हामीलाई केही कुराप्रति गहिरो आशक्ति बढ्छ, केही कुराप्रति क्रोध, घृणा वा द्वेष जाग्दछ र जीवनका धेरै आयामहरूप्रति हामी मूढ या बेसुध हुन्छौ, हामीलाई हेक्का नै हुँदैन, समग्रमा ज्ञान हुँदैन । यी तीन कुराको आवरण सघन हुँदै जाँदा हामीभित्रको बुद्धत्व प्रच्छन्न हुन थाल्छ । हामी आफू को हौं भन्ने बिर्सन्छौं । मनको उमंग हराउँछ । जीवन खेल हो, जीवन र जगत् क्षणिक हुन्, हामी यो धर्तीमा केही दशकका निम्ति मात्रै आएका यात्री हौं र यहाँका सबै कुरा त्यागेर यहाँबाट विदा हुनुपर्छ भन्ने बिर्सन्छौं । मानौं अजम्बरी हौं भनेजस्तो गरी व्यक्ति, वस्तु वा घटनाप्रति आशक्त हुन थाल्छौं र आफ्नै मनको उल्लास भरिएको मस्तीयुक्त स्वर्ग जस्तो जीवनलाई नरकतुल्य बोझिलो बनाउन थाल्छौं । हामीलाई पुनः बाल्यकालको उमंग दिलाउने एउटै उपाय ध्यानको अभ्यास हो । ध्यानद्वारा आगन्तुक दोषहरू अर्थात् राग, द्वेष र मोहलाई हटाएपछि हामीभित्रको बुद्धत्व प्रकट हुन्छ । यही जीवन धन्य हो अर्थात सार्थक सावित हुन्छ ।
जब हामीलाई ध्यानमा रस आउन थाल्छ, जब हामीले ध्यानलाई इन्जोय गर्न थाल्छौं तब हाम्रो आँखा सामुन्नेको संसार अर्कै देखिन थाल्छ । दृष्टिकोण सम्पूर्ण रूपले परिवर्तन हुन्छ । हामीले लामो, गहिरो स्वास लिंदा समेत आनन्दविभोर अनुभूति गर्न थाल्छौं । पारिलो घाम ताप्दै चिया पिउँदा परम आनन्द अनुभूति गर्न सक्छौं । जीवन अहिले यही पल दिव्य लाग्न थाल्छ । कसैप्रति कुनै गुनासो बाँकी रहँदैन । मित्र, मातापिता, परिवारजन, आफन्त सबैप्रति अहोभाव र कृतज्ञता पैदा हुन्छ । यो जीवन पाएकोमा मातापिता एवं भगवान् प्रति लाख लाख आभार प्रकट गर्न मन लाग्छ । हामीलाई बोध हुन थाल्छ ( ध्यान छ भने जीवन छस ध्यान छैन भने जीवन छैन । या त ध्यानद्वारा चेतनालाई उच्च बनाऊँ र अहिले यहीं परम आनन्दको बोध गरौं या आफ्नै मनका रागले रन्जित, द्वेषले दूषित र मोहद्वारा विमूढित भएर जीवनको खुशी लुटिएको टुलुटुलु हेरी बसौं, चयन हाम्रो आफ्नै हो ।
बुद्धको देशना र ध्यानको अभ्यास जहिल्यै उपलब्ध छन् । बुद्धप्रति न्याय गरौं, ध्यानको सम्मान गरौं । यसो गर्नु आफैंप्रति न्याय होस आफूले आफ्नै सम्मान गर्नु हो, स्वयंभित्र प्रेम र करुणाको अंकुरण हुनु हो । सबैको मंगल होस् । धन्यवादस् ।








