
लघुकथा
रे !
सुमन सौरभ
एउटा मान्छे भुइँ पुछेर फालेको टालोजस्तो कपडा लिएर मेरो अगाडि आयो,सोध्दा ‘झण्डा’ भन्थ्यो ।
उसँग अलिअलि आँसु र अलिअलि पसिनाजस्तो रङ थियो,ठेला उठेको हात र कुर्कुच्चा फुटेको खुट्टाजस्तो बुरुस थियो । उसले शौचमुद्रामा टुक्रुक्क बसेर आफ्नै छातीजस्तै फराकिलो तर भत्किएको सडकमा किरिङ्मिरिङ रेखाहरु तान्न थाल्यो । सोध्दा भन्यो-“नेपालको नक्सा बनाएको ! यी…भारत,चीन,नेपाल।”
मैले उल्क्याएँ- “धत्…केही पनि मिलेन।”
उ नबुझिने गनगन गर्दै नक्सा बनाइरह्यो र सकिएपछि सोध्यो-“कस्तो लाग्यो?राम्रो छ?”
जताबाट हेरे पनि नेपालजस्तो पटक्कै थिएन नक्सा । भनें-“कस्तो भन्नु ?पूर्व,पश्चिम,उत्तर,दक्षिण,कतै क्यै मिल्दैन,राम्रोको त कुरै नगर् । कताबाट हेर्यो भने नेपालजस्तो देखिन्छ खै?”
“हेर्न जान्नुपर्छ”- उसले बयान गर्यो- “यी,यो गाउँलाई माया नगर्ने गाउँ हो । यो सहर श्राप लागेको । यता मान्छेहरु छन् भाग्य बाङ्गिएका । यिनीहरुचाँहि नदीहरु हुन्,बेचिइसकेका । यी यहाँदेखि यहाँसम्म जमिन हुन् सक्कली लालपुर्जा नभएका । यो सरकार बस्ने ठाउँ हो,कोहीसँग सरोकार नभएको । किन राम्रो छैन् ?बोधो दिमागका दास मान्छेहरु भएको देशमा मान्छेभन्दा नराम्रा नेता हुन्छन् ।नेता नराम्रा भएका देशमा देशभन्दा देशको नक्सा राम्रो हुन्छ! मैले विरासतमा पाएको देशभन्दा मैले बनाएको देशको नक्सा मलाई त कति राम्रो लाग्यो ! कसैलाई नभन्नू,अब म बसाइँ सर्छु ल ?”
आच्या..ख्यालख्याल भनेको त साँच्चै पो हरायो नक्साभित्र ।
भोलिपल्ट उसका आफन्तहरु रोइकराई उसलाई खोज्दै आए-हाम्रो मान्छे हरायो ।
नभन्नू भनेको थियो,मैले जान्ने भएर किन भनिराख्नु ? भने पनि उनीहरुले किन पत्याउनु कि-“उनीहरुले खोजेको त्यो मान्छेले हिजो वाहियात नक्सा बनायो र देश छाडेर आफैँले बनाएको नक्सामा बसाइँ सर्यो ।”
प..छि थाहा भो,बेपत्ता नागरिकहरुको पुरानो सूचीमा उसको पनि थपियो रे !
(सुमन सौरभ लघुकथामा विशिष्ट पहिचान बोकेका लघुकथार हुन् । उनको हालै ‘रे’ लघुकथासङ्ग्रह प्रकाशित भएको छ । त्यहि कृतिको शिर्षकृत लघुकथा हामीले यहाँ प्रकाशन गरेका छौं)







