
चर्चामा पुस्तक
फ्राइडे कन्फ्यूजन
जयराज भट्टराईको कथा सङ्ग्रह हो । कथाहरु प्रयोगवादी लाग्छन् । वर्तमान पुस्ताका यावत विषयहरु कथानक भएर कथामा आएका छन् । उनको विषयवस्तुलाई टिपेर कथामा उधिन्ने सचेत चेत देखिन्छ । कुनै कथाहरु विदेशी पृष्ठभूमिका विषयमा छ् । कतारको रेगिस्तानका पृष्ठभूमिका कथा जहाँ नेपाली मजदुरहरुको पीडालाई उधिनिएको छ,मार्मिक लाग्छ । कथामा नखुल्ने उनको शैली छ ।
शब्दहरु सुन्दर शिल्पमा खिपिएका छन् । यस कृतिभित्र अठार थान कथाहरु समेटिएका छन् ।
फ्राइडे कन्फ्यूजनलाई सेर्गेम प्रकाशन गृहले प्रकाशित गरेको हो । मूल्य रु.२५०। रहेको छ ।
परिधि
आख्यानकार उमा सुवेदीको उपन्यास परिधि । स्वैरकल्पना र यथार्थको अनुपम र सन्तुलित संगम ।मिथकिय शहरमा क्यान्भासमा कोरिएको रंग जस्तो सुन्दर छ उपन्यास । थुप्रै थुप्रै गुलाबी बिम्बहरु प्रयुक्तिले पठनीय लाग्ने छ उपन्यास ।सामाजिक परिवेशमै स्वैरकल्पना जोडिएको यो उपन्यास अलिक नविन शैलीमा आएको छ ।
मान्छे चारैतिर बन्धनमा छ भन्ने पनि देखाएको छ । मान्छेका वाहिर देखिने पहिचान र गुढभित्री व्यक्तित्व अलगथलग हुन्छ भन्ने यस उपन्यासले दर्शाएको छ ।
सुस्वादु कथा,सरल भाषाशैली,काव्यात्मक बिम्बहरुको भरमग्दुर प्रयोगले उपन्यास पठनीय बनेको छ ।
उमा सुवेदीको परिधिलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५००। रहेको छ ।
मुगाको चोलो
डा.झमकप्रसाद शर्माको सामाजिक कथा सङ्ग्रह हो मुगाको चोलो । झट्ट पढ्दा संस्मरणको झल्को दिने कथाहरु छन् ।आफ्नै थातथलोका कथानक टिपेर समसामयिक विषयवस्तुहरुमाथि कथाहरु खिपिएका छन् । गाउँघरमा बोलिने मौलिक ठर्रा भाषाहरु,कतै जातीगत भाषाहरु प्रयोग गरिएका छन् । समाजका विभिन्न नियतिहरु कथाहरुले बोेकेका छन् । आयतनका हिसावले मध्यम तथा लामा कथाहरु यस कृतिमा छन् । विभिन्न शिर्षकृत बीस कथाहरु समावेश कृतिमा सरल भाषाशैली छ । कथाबस्तुमा कथाकारको ध्यान वढी गएको छ । कतिपय कथाहरु पुराना परिवेशमा लेखिएकाले अहिलेको समय सन्दर्भमा सान्दर्भिक नहुन सक्छन् ।
मुगाको चोलोलाई मकालु प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.६००। रहेको छ ।







