
काठमाडौं । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी, ललितपुरले बद्रीविक्रम थापाको १०४औँ जन्मस्मृति सभाको आयोजना गर्दै दुई पुरस्कार समाजका दुई विशिष्ट व्यक्ति र संस्थालाई समर्पण गरेको छ ।
यही सोमबार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले ‘सेवा पुरस्कार नेपाल २०८३’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई र ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८३’ गार्गी कन्या गुरुकुल, देवघाटधामलाई प्रदान गरे ।
दुवै पुरस्कारका साथ नगद राशि २ लाख २२ हजार २२२ रुपैयाँसमेत प्रदान गरियो ।
उक्तअवसरमा मानमाया लामा र श्यामलाल महर्जनलाई नगद राशि २५ हजार रुपैयाँसहित ‘श्रम सम्मान’ प्रदान गरियो । कार्यक्रममा गुठीले नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषका लागि नगद राशि २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो ।
कार्यक्रममा गुठीको मुखपत्र ‘सेवा नेपाल २०८३’ (भैरव रिसाल विशेष अंक), ‘स्मृतिमा भैरव रिसाल’ (ग्रन्थ) र प्रा.डा. खेम कोइराला बन्धु लिखित ‘उज्याला बद्रीविक्रम’ कृति लोकार्पण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिले बद्रीविक्रम थापाको शुभ संकल्पबाट स्थापित गुठीले सामाजिक सेवामा पु¥याउँदै आएको योगदानको चर्चा गरे ।
गिरिले बद्रीविक्रम थापामा गीता र वेदका अनुसार कर्म गर्ने प्रेरणा हरेक युवावर्गमा मिलोस् भन्ने चाहना रहेको उल्लेख गरे । उनले शिवशक्तिको वरदान पाएको हाम्रो भूमि कर्मक्षेत्र भएकोले सबैले कर्म गर्नुपर्नेमा जोड दिए ।
गिरिले भने, “धर्म, संस्कृति, संस्कार र सेवालाई सूत्र बनाएर म राष्ट्रमा घुमिरहेको छु ।”
पुरस्कृत व्यक्तित्व डा. भगवान कोइरालाले मुटुरोगको उपचारका लागि आफूहरू अगाडि बढिसकेको बताउँदै शुद्ध समाज सेवा गर्दै आएको गुठीबाट प्राप्त पुरस्कारले उर्जा थपिएको बताए ।
उनले मुटुरोग अस्पतालको विस्तारका लागि प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।
चितवनको देवघाटस्थित गार्गी कन्या गुरुकुलकी उपाध्यक्ष मन काफ्लेले शिक्षासेवी अंगुरबाबा जोशी र भगवती उपाध्यायको विशिष्ट योगदानले गुरुकुल आजको अवस्थामा आइपुगेको बताइन् ।
उक्तअवसरमा गुठीका कोषाध्यक्ष किरण थापाले गुठीले गर्दै आएको कामका बारेमा जानकारी दिए । उनले गुठीले सेवा नेपालसहित अन्य पुस्तक पत्रिकाको प्रकाशन हुँदै आएको विषयमा पनि बोले ।
कार्यक्रममा प्रा.डा. सुरेशराज शर्मा, डा. चिन्तामणि योगी, श्रीओम श्रेष्ठ ‘रोदन’ले कर्मयोगी बद्रीविक्रम थापा र गुठीले गर्दै आएको सेवाकर्मका विषयमा आफ्ना धारणा राखे ।
उक्तअवसरमा गुरुकूलका छात्राहरूले स्वस्ती वाचन गरेका थिए । गुरुकुलकी छात्रा नवीना भट्टराईले संस्कृत भाषामा मन्तव्य राखिन् ।
कार्यक्रममा सूवर्णलता थापाले राष्ट्रभक्ति गीत प्रस्तुत गरिन् ।
