
हिक्मत डंगोल |काठमाडौं। साउनको सॅाझपख ५:३० को मधुरो प्रकास।बबरमहलको आर्ट काउन्सिलको ढोका बाहिर कलाकार, संग्राहक र कला–प्रेमीहरूको भीड। ढोकाभित्र पस्यौं भने—पहिलो नजरमै भित्ताभर रंगहरू उफ्रिरहेको जस्तो। तेल र एक्रेलिकका स्ट्रोक, पौभाका सूक्ष्म रेखाहरू, माटोको छुँदा गर्मी दिने मूर्तिहरू, र बत्तीको प्रकाशमा झिलिमिली गर्ने इन्स्टलेशन।
यो माहोल हो ८औं हिमालयन आर्ट फेस्टिवल २०२५ को, जसको संयुक्त उद्घाटन ‘शार्क ट्याङ्क नेपाल’का पाँचै शार्क—क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, आनन्द बगरिया, ऋतुसिंह वैद्य र सौरभ ज्योती—ले गरे।
उद्घाटन समारोहमा वरिष्ठ कलाकार तथा डिजाइनर श्यामदास अशान्तलाई सम्मान गरिँदा हल तालीले गुञ्जियो। अनि, दिवंगत कलाकार प्रशान्त श्रेष्ठको स्मृतिमा प्रशान्त स्कलरशिप अवार्ड २०२५ प्रदान गर्दै आयोजकहरूले नव–युवा कलाकारलाई थप प्रेरणा दिँदै भने,
“कला केवल प्रदर्शन होइन, पीढीबीचको संवाद हो।”
१४० भन्दा बढी कलाकारको एकै छानामुनि यात्रा:
फेस्टिवलमा यस वर्ष १४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन र सेरामिक्सका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा छन्। यसमा कलाकारहरूमा सम्झनाराज भण्डारी, रीता मानन्धर, चन्द्रा श्रेष्ठ , शैली राणा विष्ट सविता डंगोल, विधाता केसी लगायतका चित्रकला पनि समावेस भएका छन्। केही चित्रमा पहाडको चिसो हावा र हिमालको ठण्डा महसुस हुन्छ, भने कलाकार चन्द्रा श्रेष्ठ को चित्रकलामा समु्न्द्रको छालको लहर। कुनै चित्रमा काठमाडौंको भीडभाड, केहीमा त शुद्ध भावनाको अमूर्त रूप।
कलाकार आशा डंगोल भन्छन्-
“यो फेस्टिवलले कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न मात्र होइन, दर्शकलाई प्रत्यक्ष कला अभ्याससँग जोड्ने अवसर दिन्छ।”

कलेक्टरको दृष्टि:
क्याबिनेट श्रेष्ठले उद्घाटनपछि आफ्नो अनुभव सुनाए,
“१९९४ मा सिदार्थ आर्ट ग्यालरीमा पहिलो पटक धेरै नेपाली कलाकारका काम देखेँ। त्यतिबेला सशिकला तिवारीको चित्र मन परेको थियो, तर किन्न सकिनँ। पछि व्यवसाय राम्रो भएपछि आर्ट संकलन सुरु गरें। यस्ता महोत्सवले नयाँ कलेक्टरलाई सहज वातावरण दिन्छ।”
फेस्टिवलको महत्व:
ई–आर्ट्स नेपाल, सन् २०१० मा स्थापना भएको अनलाइन आर्ट ग्यालरी, सन् २०१७ देखि यो फेस्टिवललाई वार्षिक यात्राको हिस्सा बनाउँदै आएको छ। संस्थाकी सुजन श्रेष्ठका अनुसार, उद्देश्य स्पष्ट छ— “ नेपाली समकालीन कलालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र कलाकार, संग्राहक तथा दर्शकबीच पुल निर्माण गर्ने।”
सांस्कृतिक पृष्ठभूमि:
नेपाली कला परम्परा लिच्छवीकालदेखि समृद्ध छ। धातु मूर्तिकला, पौभा, काठका देवगृह र मण्डला–कलाले केवल धार्मिक आस्था मात्र होइन, सांस्कृतिक पहिचानको कथा सुनाउँछन्। समकालीन कलाकारहरूले ती कथाहरूलाई नयाँ माध्यम र दृष्टिकोणमार्फत पुनःअभिव्यक्त गर्दैछन्—र यही संवाद पुरानो र नयाँबीचको सेतु बनेको छ हिमालयन आर्ट फेस्टिवल।
सप्ताहव्यापी यो कला उत्सव साउन २९ गतेसम्म चल्नेछ। त्यसअघि बबरमहलमा पुग्ने हो भने, तपाईंलाई पनि लाग्नेछ—कला हेर्न मात्र होइन, महसुस गर्नुपर्छ।



