काठमाडौं । जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जना उच्च अदालत पाटन पुगेका छन्।
उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको हो।
चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका हुन्।
उनीहरूले पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न माग गरेका छन्।
त्यस्तै उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट उनीहरूविरूद्ध निवेदन दिएको छ। दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो।
काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो।







