
काठमाडौँ । उपभोक्ता अदालतले धमाधम उपचारमा लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेपछि तरंग उत्पन्न भएको छ । विगतमा चिकित्सकको लापरबाहीका कारण विरामी हुदाँ नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई चेतावनी मात्रै दिएर छाड्थ्यो । पीडितले न्यायको अनुभुति गर्न पाउँदैन थिए । उपभोक्ता अदालत गठन भएसँगै बिरामीका आफन्त धमाधम न्याय माग्दै अदालत धाउन थालेका छन् ।
अदालतले पनि धमाधम चिकित्सकको लापरबाहीको कारण देखाउँदै अस्पताल र चिकित्सक दुबैलाई क्षतिपुर्ति भराउने फैसला गरेपछि अस्पताल र चिकित्सकहरु यसले आफूलाई हतोत्साही बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरोकारवाला भेटेर ध्यानाकर्षण गराइसकेका छन् ।
यता नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की स्वास्थ्य सेवाको विशिष्ट प्रकृतिको भएको बताउँछन् । डा कार्कीका अनुसार स्वास्थ्य सेवा अन्य उपभोग्य वस्तु वा सेवाभन्दा फरक छ । मेडिकल काउन्सिलले चिकित्सकले लापरबाही हो या होइन भन्नु पर्नेमा अदालतले भन्न नमिल्ने चिकित्सक संघको तर्क छ । उता उपभोक्ता अधिकार मञ्जका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिबक्ता ज्योति बानियाँ उपभोक्ता अदालत गठन भएपछि पीडितले न्यायको अनुभुति गरेको बताउँछन् ।
अहिलेसम्म कुन अस्पताल र चिकित्सकलाई कति क्षतिपुर्ति भयो
ॐ अस्पताललाई ५६ लाख ८१ हजार
ओम अस्पतालले उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ। रामप्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले यो फैसला गरेको हो।
बसन्त गौतमले आफ्ना बुवा हरिहरप्रसाद गौतमको उपचारमा लापरबाही भएको दाबी गर्दै ५ करोड क्षतिपूर्तिको मागसहित उजुरी दायर गरेका थिए। ९८ वर्षीय गौतमलाई बाथरुममा लडेपछि चाबहिलस्थित ॐ अस्पताल लगिएको थियो, जहाँ इमरजेन्सी कक्षमा सामान्य चेकजाँच गरेर डिस्चार्ज गरिएको थियो। पछि अर्को अस्पतालमा एक्सरे गर्दा खुट्टामा फ्याक्चर देखिएको थियो।
जम्मा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।
ग्राण्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख १९ हजार
वर्षा भण्डारीले आफ्नो खुट्टाको शल्यक्रियापछि संक्रमण भइ पीडा बढेको भन्दै ग्राण्डी सिटी अस्पताल र चिकित्सक डा. संजीव त्रिपाठीविरुद्ध ३ करोड १७ लाख क्षतिपूर्ति दाबी गरेकी थिइन्।
उपभोक्ता अदालतले अस्पताल र चिकित्सकको तुलनात्मक लापरबाहीको जिम्मेवारी निर्धारण गर्दै ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्तिको आदेश दिएको हो।
अदालतका अनुसार चिकित्सक त्रिपाठीले ७० प्रतिशत (४० लाख ३ हजार ३००) र अस्पतालले ३० प्रतिशत (१७ लाख १५ हजार ७००) बेहोर्नुपर्नेछ।
हिमाल अस्पताल र डाक्टरलाई १ करोड ४५ लाख
उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।
रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला गरेको हो।
अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको हो।
२०७९ माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेको र उपचारमा लापरबाही गरिएका कारण उनको मृत्यु भएको दाबी गर्दै अभिभावकले अस्पतालमै लामो समय आन्दोलन गरेका थिए। त्यसपछि नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए।
काउन्सिलले उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर्याउँदै चेतावनी दिने निर्णय गरेको थियो। काउन्सिलको निर्णयमा भनिएको छ, २८ महिनाकी प्रशंसा गौतम नामकी बालिकालाई हिमाल अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम नियमित चेकजाँच र उपचार गरेको भएपनि रोगका कारण उत्पन्न जटिलता हुँदासम्म थप कुनै जाँच नगराएको र बिरामीको अवस्था जटिल भै अन्यत्र प्रेषण गर्दा सावधानी र न्युनतम उपचार विधि नअपनाएको र इन्ट्युबेशन नगरेको देखिएको हुनाले वालरोग विशेषज्ञ डा. जयदेव यादवलाई अब आइन्दा स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेशण गर्दा उचित सावधानी अपनाउन निजलाई चेतावनी दिने।’
काउन्सिलले चेतावनी मात्रै दिने निर्णय गरेपछि क्षतिपुर्तीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरिएको थियो। उपभोक्ता अदालत गठन भएपछि गत चैतमा उक्त मुद्दा उपभोक्ता अदालतमा सरेको थियो।
अदालतले काउन्सिलको निर्णय समेत राखेर उक्त फैसला गरेको हो। अदालतको निर्णय चित्त नबुझ्ने पक्षले उच्च अदालत काठमाडौंमा पुनरावेदन गर्न सक्ने प्रावधान छ।
