
“माल पाएर के गर्नु चाल नपाए पछि” यो उखान हाम्रो दैनिकीमा बारम्बार बोल्दै आउने गरेकै कुरा हो । मतलव यसले बुझाउने आसय सर्बविदित छ भन्न सकिन्छ । त्यसैले यहाँउहाँ मात्र भन्ने छैन हरेक क्षेत्रमा यो उखान चलन चल्तीमा छ । त्यही हरेक क्षेत्र मध्ये प्राचीन अभिलेख पाइएको र यसलाई सही अर्थ लगाएर सदुपयोग गर्ने कुरामा नेपाल धेरै पछाडि पर्दै आएको तथ्य तीतो सत्य भएर ज्यूंकोत्यूं रही आएको छ ।
वि.सं २०३० साल त्यसको हाराहारीमा धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेख सम्पादन भए भने हरिराम जोशीको प्राचीन अभिलेख सम्पादन भए । त्यसको केही वर्षपछि डा.डिल्लीरमण रेग्मीको एनशिएण्ट इन्स्क्रीप्शन्स अफ नेपाल सम्पादन भइ प्रकाशित भए । उहाँहरुले लिएको अभीष्ट भनेको पाठकहरुले सबै अभिलेख एकै ठाउँमा राखेर अध्ययन गर्न सहज होस् भन्ने नै हो । यसमा उहाँहरुको अभीष्ट सफल रहेको नै मान्न सकिन्छ तर इतिहासलाई ब्याख्या गर्नमा उहाँहरु ठाउँठाउँमा अलिअलि चुकेको पनि अवश्य हो । त्यही भएर त्यसरी चुकेको कुरा मध्ये केहीकेही आकर्षित गर्दै यही विषयलाई केन्द्रमा राखी यो लेख तयार गरिएको हो ।
पुरानो धङ्धङीको समस्या
मुख्यतःदेखिएको समस्या भनेकै कुनै नयाँ अभिलेख फेला पर्न आए भने इतिहासकारहरुले आफनो व्याख्या अनुकूलको देखियो भने त्यो अभिलेखमा चासो राख्ने नत्र आफनो व्याख्याको प्रतिकूल देखिन आए त्यो अभिलेखको वास्तै नगर्ने मात्र होइन तिरस्कार समेत गर्ने र अझ त्यो अभिलेखमा खासै नयाँ कुरा केही छैन भनी उपेक्षा गर्ने जस्ता धङ्धङी कहिल्यै गएनन् ।
स्पष्ट सफा एवं एउटा अक्षर पनि नबिग्रेको गोकर्ण बालुवा गाउँको संवत् ५३६ को अंशुवर्माको अभिलेख भेटियो । त्यो अभिलेखमा खास नयाँ कुरा केही पनि छैन भनी तिरस्कार गर्दै इतिहासकारहरु कसैले पनि त्यस बारेमा चर्चा पनि गरेन र वास्तै गरेन भन्ने कुरा जग जाहेर भएर रहेको छ । किनभने पहिले भेटिएको संवत् ५३५ को काठमाडौं लगन ज्यावहालको अभिलेख अस्पष्ट थियो । त्यसलाई कुनै पनि इतिहासकारले अंशुवर्माको हो भनेर स्वीकार गरेका थिएनन् । संवत् ५३६ को अभिलेख अंशुवर्मा कै देखिए पछि संवत् ५३५ पनि अंशुवर्मा कै ठहरिने भएकोले उनीहरु आफनो व्याख्याको प्रतिकूल देखिएको भएर कुनैपनि इतिहासकारले त्यो गोकर्णको अभिलेखका बारेमा एक शव्द पनि खर्च गर्न चाहेको देखिएन । यही पारालाई पुरानो धङ्धङी भन्न सकिन्छ ।
यस्तो धङ्धङी एक दुई वटा मात्र होइन असंख्य औंल्याउन सकिन्छ । साँच्चै भन्ने हो भने धनवज्र वज्राचार्यको ग्रन्थमा समावेश नभएका पछि फेला परेका अधिकाँश अभिलेखहरु इतिहासकारहरुको व्याख्या अनुकूलका प्राय देखिंदैन । ती मध्ये केही उदाहरण यस प्रकार छन्
१ चावहिल धन्दो चैत्यको अभिलेख
यो अभिलेखको बारे मै कुरा गर्ने हो भने तिथिमिति सहितको खण्डित भाग भेटिएर अभिलेख प्रकाशमा आइसकेको कुरा खासै कसैले चासो राखेको देखिएको छैन । अझै पनि कतिपय लेखकहरुले धन्दो चैत्यको अभिलेखलाई वृषदेवको अभिलेख भनी रहेका देखिन्छन् किनभने यो अरु दायाँ बायाँ कतै नहेरी लिच्छविकालको अभिलेख मात्र पल्टाएर हेर्दै आइरहेका हुनाले हो । यो अभिलेखको खण्डित अर्को भाग प्राप्त भएको सम्वन्धमा कसैलाई चासो नै नभएको हालत अहिलेसम्म पनि यथावत् देखिन्छ ।
यो अभिलेख प्राप्तभएको सूचना मिति २०७५ पौष २५ गते बिहीबारको गोरखापत्रमा समाचारको रुपमा मात्र प्रकाशित भयो । अभिलेखको पाठ सहित दिइएको भए पनि पाठ समाचारमा छापिएन । त्यो अभिलेखको विस्तृत व्याख्या गरी राष्ट्रिय अभिलेखालयको मुखपत्र “अभिलेख” जरनल लाई प्रकाशनार्थ दिंदा मुखपत्र प्रकाशित नहुँदै अरुबाट प्रकाशमा आउने संभावना लाई मध्यनजर गरी अभिलेखालयबाट लेख दर्ता गरी दर्तानं र मिति सहित लेखकलाई तत्कालै उपलव्ध गराइयो । सायद ती दर्ता नं र मिति भएकै कारणले यसमा कसैले गुनासो गर्ने ठाउँ नभएको होला भन्ने ठान्दछु ।
त्यो लेखमा अभिलेखको संवत् ४२१ आषाढ शुदि १३ को तिथिमितिलाई सौरार्य ब्राह्म पक्षीय तिथि गणितको रीत बमोजम गणना गर्नुको साथै तारिख गणना पनि रीत बमोजिम न्यास गरी सबै दिइएको छ । तर दुःखका साथ भन्नु पर्ने हुन्छ कि बेंकटेश केतकरद्वारा प्रतिपादित सौरार्यब्राह्मपक्षीय तिथि गणितको गणना रीत बमोजिम गरिएकोलाई कसैले चासो दिइएन । किनकि त्यही पुरानो धङधङीले गर्दा त्यही गणनाको रीत बमोजिमको गणना पं नयराज पन्तले लिच्छविसंवत्को निर्णयमा गणना दिएको अवस्थामा वाह वाह गरे तर श्यामसुन्दर राजवंशीले त्यही रीतमा गरेको गणनालाई कसैले चासो राखेनन् । आश्चर्य लाग्दो कुरा यहीकि लेखमा सौरार्य ब्राह्मपक्षीय तिथि गणितको गणना पटक्कै बुझेको रहेनछ । साँच्चै भन्ने हो भने इतिहासकारहरुले पं नयराज पन्तले गरेको गणना पनि पटक्कै नबुझेको रहेछ र गणना नबुझीकनै बृथामा वाहवाह गरेको रहेछ भन्ने प्रमाणित भयो । किनभने गणनाको रीत दुवैको उही हो र त्यसैले यो पनि उही धङधङीको कारणले हुनुपर्छ ।
लिच्छविकालीन इतिहासको विषय र तिथिमिति गणना भनेको संशोधन मण्डलको बिर्ता ठान्ने पुरानो धङधङी संशोधन मण्डलले त राख्ने नै भयो यसमा आश्चर्य मान्नु परेन तर अरु तमाम इतिहासमा चासो राख्ने लेखकहरुले समेत यसलाई संशोधन मण्डलको बिर्ता ठानेको देखिनु निश्चय पनि आश्चर्य हो भन्न सकिन्छ ।
सौरार्यब्राह्मपक्षीयतिथि गणित अन्तर्गत ब्रह्मसिद्धान्त अनुसार गरिएको गणनाको परिणाम
अभिलेखको संवत् ४२१(प्रा.ने.सं) तद्नुसार विक्रमसंवत् ५५५ शक ४२० आषाढशुदि १३ तिथिको बारबुधबार ५४ घडी ४२ पला नक्षत्र ज्येष्ठा ४० घडी ५८ पला ।
तारिख गणनाको रीत अनुसार संवत् ४२१ भनेको तद्नुसार शकसंवत् ४२० इ.सं ४९८ तिथि आषाढ शुदि १३ को जून १७ तारिख बुधबार पर्दछ ।
(अभिलेख, वर्ष ३६ २०७५,पूर्णाङ्क ३६,पृष्ठ ४—११)
यसरी ब्रह्मसिद्धान्त अनुसार तिथिमिति गणना गर्दा आषाढ शुदि १३ को बुधबार नै आएको र तारिख गणनाबाट पनि जून १७ तारिख बुधबार नै आएकोले गणनामा कुनै त्रुटि छैन भन्ने प्रमाणित हुन्छ ।
२. पाटन चक्रवहिलको अभिलेख
यो अर्को उदाहरण हो । यो अभिलेख पनि इतिहासकारको व्याख्या अनुकूलको होइन । तैपनि एकदुई जनाले पहिला प्रकाशित भएको पाठमा सानो तिनो त्रुटि औंल्याएर आफु चोखिन खोजेको मात्र देखियो । वास्तवमा यो अभिलेखले संशोधन मण्डललाई ठूलो हाँक दिएको हो । त्यो कुरा चाल नपाएको जस्तो गरेको मात्र हो ।
यो अभिलेखको मिति संवत् ३१ वैशाख शुक्ल प्रतिपदा हो । यही संवत् ३१ पौषको भक्तपुर इनायचो को अभिलेखमा अधिमास उल्लेख भएको सर्बविदित हो त्यस्तै चाँगुनारायण गरुड कवचको अभिलेख पनि संवत् ३१ कै हो यसमा माघ शुक्ल त्रयोदशीको अतिरिक्त आदित्यबार समेत उल्लेख भएको पनि सर्बविदित नै हो । अरुले त गणना फित्तिक्कै नबुझ्ने नै भयो तर संशोधन मण्डलले गणना बुझेन भन्न पाउने स्थिति छैन । किनकि लिच्छविसंवत्को निर्णयमा पं नयराज पन्तले पौषको अधिमास पनि आकर्षित गरी त्यही वर्षको माघ शुक्ल त्रयोदशी आदित्यवार को गणना सौरार्य ब्राह्मपक्षीय तिथि गणितको रीतबाट गरेको भन्दै दुनियाँको आँखामा छारो हाल्ने त्रुटिपूर्ण गणना गरेको छ । यही त्रुटिलाई चुनौतिदिने संवत् ३१ वैशाखको पाटन चक्रवहिलको अभिलेख भइदिएको छ ।
गणना के हो? फित्तिक्कै ज्ञान नभए पनि संवत् ३१ माघ शुक्ल त्रयोदशीदेखि संवत् ३१वैशाखशुक्ल प्रतिपदासम्म कति दिनहुन्छ गन्न नजान्ने त कोही हँदैनन् । माघ पछिफागुन,फागुन पछि चैत र चैतपछि वैशाख आउने त सबैलाई थाहा भएकै हो । अहिलेको नेपालसंवत्को पात्रो अमान्तमान( शुक्लपक्षबाट शुरु भएर औंशीमा अन्त हुने) जस्तै लिच्छविकालमा चलेको संवत् पनि अमान्तमान थियो । यो कुरा अरुलाई थाहानभए पनि संशोधन मण्डललाई थाहा छ ।
माघ शुक्ल चतुर्दशी १+माघशुक्ल पूर्णिमा१+माघ कृष्णपक्ष १५+फागुनशुक्ल पक्ष१५+ फागुनकृष्णपक्ष१५ +चैत्रशुक्लपक्ष१५+ चैत्रकृष्ण पक्ष१५+वैशाखशुक्ल प्रतिपदा । माघ शुक्ल त्रयोदशी देखि वैशाख शुक्ल प्रतिपदा आइपुग्न २+१५+३०+३० = ७७ दिन । यसबाट माघ शुक्ल त्रयोदशीदेखि वैशाख शुक्ल प्रतिपदा आउन ७७ दिन लाग्नेरहेछ । यो कुरा सामान्य दिन गणना गर्नजान्ने सबैलाई थाहा हुने कुरा हो ।
संवत् ३१ को माघशुक्लत्रयोदशी देखि संवत् ३१वैशाखशुक्ल प्रतिपदा तिथि टूट हुने र तिथि बढ्नेलाई छोडेर मोटामोटी गन्दा ७७ दिनपछि मात्र आउने हुन्छ । लिच्छविसंवत्को निर्णयमा माघशुक्ल त्रयोदशीको गणना गर्दा तिथिगण ३४३ लिइएको छ । यही तिथिगण ३४३+७७=४२० तिथि गण देखिने भयो । संवत् ३१ भनेको शक ५२९को कार्तिकदेखि शक ५३०को आश्विनसम्म रहने भएपछि शक ५२९ को भागमा ४२० तिथिगण मध्ये कतिपर्छ र ५३० को भागमा कतिपर्ने भयो । यसको बाँडफाँट अरुले नभए पनि संशोधन मण्डलले गर्नै पर्दथ्यो ।
यसमा हेक्का राख्नुपर्ने कुरा भनेको शक ५२९अधिमास नभएको वर्ष र शक ५३० अधिमास भएपनि ५३० जेष्ठमा मात्रै अधिमास पर्ने भएकोले शक ५३० वैशाखसम्म अधिमास गणना गर्नुपर्दैन । यो सबैलाई थाहा हुने कुरा हो । एउटै वर्ष ३१ को माघदेखि वैशाखसम्म ४२० तिथिगण देखापर्नु असंभव हो यसमा गणकले लापरवाही गरेको थियो भन्ने प्रष्टहुन्छ ।
सौर वर्षमा ३६५ दिन हुन्छ भने चन्द्रमा सूर्यको उपग्रह भएकोले सूर्यको ३६५ दिन भित्रको चान्द्रमास हुने भएको हुंदा अधिमास नभएकोवर्ष ३५४ दिनको चान्द्रवर्ष र अधिमास भएको वर्षमा२० दिन बढेर ३७४ दिन हुन्छ । यस प्रकार तीनसौर वर्षमा ३६५ह्३=१०९५ हुन्छ भने तीन चान्द्रवर्षको पनि १०९५ दिन नै हुने हो । यसमा एक दिनघटी पनि हुँदैन एकदिन बढी पनि हुँदैन ।
३ चाँगुुनारायणको सुवर्ण कवचको अभिलेख
यो अभिलेख धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेखमा संख्या ७६ मा प्रकाशित भएको छ । यो अभिलेख साँच्चै महत्वपूर्ण थियो किनभने यसमा पहिलो चोटी बारसहित उल्लेख भएको लिच्छवि अभिलेख सावित थियो । यसरी माल त पाइयो तर चाल पाउन सकेको थिएन । यही ग्रन्थको पृष्ठ ३१९ मा टिप्पणीमा यसरी लेखिएको छ ।
संवत्को निर्णयको लागि श्री शङ्करमान राजवंशीले यस अभिलेखको तिथिमितिको गणना अनेक किसिमले गर्नुभएको छ । उहाँले एउटा निष्कर्ष पनि निकाल्नुभएको छ । तर यस विषयमा अझ गहन अन्वेषण हुनु जरुरी छ जस्तो लागेकोले उहाँले गर्नुभएको गणनाको विवरण यहाँ दिइएन ।
यसबाट के स्पष्ट बुझिन्छ भने धनवज्रले अभिलेख सम्पादन गर्दा लिच्छविकालमा दुईथरि संवत् व्यवहृत थिए एउटा विक्रमसंवत् संग १३५ वर्ष फरक भएको शकसंवत् र अर्को विक्रमसंवत् संग ६३३ वर्ष फरक भएको मानदेवसंवत् थियो भन्ने लाइनलाई समातेको थियो । उहाँले अभिलेख सम्पादन गर्दै गर्दाको क्रममा चाँगुनारायणको गरुड कवचको अभिलेख भेटियो ।यसको गणना गरि दिन सर्वप्रथम हुत्तिएर संशोधनमण्डल पुगे तर गणना गरेर सहयोग गर्न ठाडै इन्कार गरिएको हुँदा शङ्करमान राजवंशीलाई गुहार्न आउनु भयो । उहाँको गणनापनि धनवज्रलाई चित्त बुझेन भन्ने कुरा माथिको उद्धरणले प्रष्ट गर्छ । यसमा मुख्य कारण भनेको उहाँहरुले जुन व्याख्या समातेको हो त्यो अनुकूल भएन । तव संवत् ३१ पौषमा अधिमास परेको हुनु साथै त्यसबेला प्रचलित संवत् कार्तिकादि थियो कि चैत्रादि थियो;संवत्निर्णय क्रममा यस कुरामा पनि विद्वानहरुले ध्यान दिनुपरेको छ भनेर आफनो भनाइ राखेको छ ।
पछि यही मितिको गणना गर्न वेदाङ्ग ज्योतिषबाट गर्नु पर्छ बेंकटेश केतकरको सिद्धान्तले होइन भनी पूर्णिमा अंक ३४ र ३७ मा वेदाङ्ग ज्योतिषको व्याख्यान निस्कन थाले । फलस्वरुप ल वेदाङ्ग ज्योतिषबाट गणना गर भनी पं नयराज पन्तलाई तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यको रुपमा वि.सं २०३६ साल वैशाख १ गते नियुक्ति पनि गरियो । वि.सं २०४३ सालमा लिच्छविसंवत्को निर्णय प्रकाशित पनि भयो । सारा मान्छे वेदाङग ज्योतिषबाट परीक्षा भइ निर्णय आउला भनी व्यग्र भएर प्रतिक्षा गरेर बसेका थिए सबै हिस्स भए । आखिरमा त्यही बेंकटेश केतकरको सिद्धान्तबाट निर्णय भएर आए ।
वास्तवमा चाहे वेदाङ्ग ज्योतिष अपनाउन् चाहे बेंकटेश केतकर अपनाउन् अभिलेखमा भएको मितिको स्पष्ट निर्णय आवस् भन्ने चाहना बुद्धिजीविहरुको हो । केतकरको सिद्धान्त काम लाग्दैन अरुकसैले भनेको होइन । केतकरको सिद्धान्तबाट गरेर हुँदैन वेदाङ्ग ज्योतिषबाट गर्नु पर्छ भनेर गरेको जिकिर खुद नयराज पन्तको हो । केतकर कै सिद्धान्तबाट गरिए पनि जब अभिलेखको संवत् शकसंवत्मा सटही गरेर जानुपरे पछि शकसंवत् कै नियममा जानु पर्ने हुन्छ । तर पन्तले शक ५२९ को वर्षमा अधिमास परेको देखाउन नसक्ने त्यही शक ५२९ को माघमा अधिमास सहितको तिथिगण बनाएर ३४३ तिथिगण देखाई दुनियाँको आँखामा छारो हाल्ने गणना देखाइ गणना ट्वाक्कट्वाक्क मिल्यो भनी थोरै पानी भएको घडा छचल्किए झै छचल्किए । दही चिउरे इतिहासकारहरु जतिले यसलाई अहिलेसम्म वाह वाह गर्दै आएका हुन् । यसरी वाह वाह गर्नेहरु जतिसुकै प्रवल भइरहुन् तर सत्यको बाटो लिने इतिहास लेखकहरु एक रत्ति दग्नेवाला छैन भन्ने कुरा यो लेखमा दृष्टान्त पाउने नै छ । यही अभिलेखको तारिख गणना पनि प्रस्तुत गरिन्छ ।
चाँगुुनारायणको सुवर्ण कवचको अभिलेखको मिति
ॐ एकत्रिंशत्तमे वर्षे वर्तमाने स्वसंस्थया
माघशुक्लत्रयोदश्याम्पुष्येण सवितुर्दिने
(लिच्छविकालका अभिलेखको ३१७ पृष्ठ)
अभिलेखको फोटो(डा.कमलप्रकाश मल्लको नेपालका इतिहास—संशोधकहरुको उत्थान र पतन नामक पुस्तिकाको भित्रिपृष्ठमा छापिएको फोटोको प्रतिछाया )

(संवत् ३१ माघशुक्ल त्रयोदशी पुष्य नक्षत्र आदित्यबार )
अभिलेखको संवत् ३१ र तद्नुसार शक ५२९को माघ शुक्ल त्रयोदशी आदित्यवारको तारिख गणना यस प्रकार छ ।
अभिलेखमा दिइएको मितिः संवत् ३१(५३१) माघशुक्ल त्रयोदशी आदित्यवार ( शक ५२९ को कार्तिकदेखि शक ५३० को आश्विनसम्म रहने गर्छ)
संवत् ३१ माघ भनेको = शक ५२९ माघ । इष्ट इश्वी ६०८(४ ले निःशेष भाग लाग्ने प्लुट वर्ष)
इष्ट शक: शक ५२९ माघ( किनकि माघमा शक ५२९ नै भए पनि इष्ट इश्वीसनः५२९ + ७९ सन ६०८ हुन्छ (माघमा इश्वी सन फेरि सक्ने तर शक नफेरिने अवस्था भएकोले शक ५२९ माघमा ७९ जोड्नु पर्ने भएको हो )
तिथिगण: माघसम्म आउन – चै१,वै२,जे३अ४,सा५,भा६,आ७,का८, मं९ पु१० +मा १३ =१०ह्३०+१३=३१३ दिन उपकरण दिन मेष तिथ्यन्तमा दिन १ आएकोले ३१३—१=३१२ उपकरण
न्यास १

१.प्राचीन रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. सामान्य वर्ष भएकोले ५९ जोडेको ५योगफल लाई ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
परिणामः— संवत् ३१(५३१) माघ शुक्ल त्रयोदशी आदित्यवारको तारिख गणना गर्दा इश्वीसन ६०८ फेब्रुवरी १ तारिख आदित्यबार आई तारिख र वार सिद्ध भयो ।
निष्कर्षः
अभिलेख प्राप्त हुनु भनेको सौभाग्यको कुरा हो । प्राप्त भएका जे जति अभिलेखहरु हुन् ती कसैको इच्छा मुताबिक प्राप्त भएका होइनन् । यसरी सौभाग्यबश प्राप्त भएका अभिलेखहरुले नेपालको प्राचीन इतिहासमा खोज अनुसन्धान गर्ने ,त्यही स्रोत भित्र डुबेर शव्द भाषामा उत्खनन गरिरहनेहरुको निमित्त यो अपार भण्डार सिद्ध भइरहेको छ । यी अपार भण्डारले गर्दा अनुन्धाताहरुलाई सम्पन्न र वैभवशाली बनाइ दिएको छ । तर यही सौभाग्यलाई पनि दूर्भाग्य बनाउँदै आएकाहरुले आफनो अनुकूल भए सौभाग्य र आफनो प्रतिकूलको भए दूर्भाग्य भनेर अर्थ लगाउँदै आएका मात्र हुन् । भिल्लको देशमा मणि माणिक्यको कुनै मूल्य हुँदैन उनीहरुको लागि काँच र हिरा मणिमाणिक्य सबै उस्तै देख्दछन् । नेपालमा अभिलेखहरु कहीं पनि सुरक्षित छैनन् । कतिपय मान्छेलाई अभिलेख भनेको के भनियो ?भने अक्षर भएको ढुंगा भन्ने सानो सोचाइमा सीमित ठानिएको चेतना बाहेक अरु छैन ।
अरु सबै छोडेर माथि उल्लेख गरिएको तीन वटा अभिलेखको बारेमा मात्र कुरा गर्ने हो भने पनि आफुलाई इतिहासका महारथि भन्दै आइरहेकाहरुले समेत ती अभिलेखहरुको कुन हेराईले हेरेर दुरुपयोग गर्दै आइरहेका रहेछन्? भन्ने कुरा छर्लङ्ग प्रायः देखापरेको छ । त्यसकारण अभिलेख प्राप्त भयो भनेर खुसी हुनेहरु भन्दा महारथि भनाउदाहरुले बनाइदिएको धारणा र बुझाइको प्रतिकूलको अभिलेखहरु कुनै पनि प्राप्त नहोस् भन्ने चाहना राख्नेहरुको जमात अहिलेसम्म धेरै ठूलो र बलियो जस्तो देखिएको छ । तर बेलाबेलामा भने जस्तै नयाँ नयाँ अभिलेखहरु दैवको अनुकम्पाले प्राप्त हुँदै आएका छन् भने पुराना धङ्धङीहरु बिस्तार बिस्तारै धराशायी बन्दै गएका पनि छन् । त्यसकारण भविष्यमा आउने अनुसन्धान कर्तासित एउटै अनुरोध यो छ कि नेपालको स्वस्थ इतिहासको रुपरेखा तयार गर्दा यी प्राप्त अभिलेखहरु सबै सदुपयोग गर्न सकोस् र माल पाएर के गर्नु चाल नपाए पछि भन्ने उखानले प्रश्रय नपावस् भन्दै छातिमा हात राखी हामी सबैले एकै स्वरमा कामना गरौं ।


