
निबन्ध
चङ्खेली लेकमा हिउको बिस्कुन
ज्ञानेन्द्र विवश
दुई दशकअघिको मीठो याद ! त्यही मिठासमा घोलिएर आएको यौटा तस्बिर । चङ्खेली लेकका सेताम्मे हिउँको बिस्कुनमा लुट्पुटिँदै राराताल पुगेका ती दिनहरू ! २०५८ सालको यही यात्राले मेरो यात्रा–निबन्ध ‘राराकी अप्सरा’ लेखाएको थियो ।
राराताल सौन्दर्य र स्वादले घनिभूत प्रकृतिको विराट वैभव । प्रकृतिको त्यही विराट विरासतमा विचरण गरेका यादहरू बग्रेल्ती छन् । यायावरी यादहरूमा एकपछि अर्काे चित्रमय दृश्यहरू देखापर्छन् । तिनै हार्दिक पलहरूलाई सम्झनाको बिहान चियासँगै शब्दहरूमा उतार्ने चेष्टा गर्दैछु ।
रातभरिको झरीले बिहानैदेखि गर्मीको यो बिहान । तथापि शीतल र शान्त लाग्छ । किन कि सुदूर विगत सम्झेर रमाइरहेको यो पल ! सुकोमल सुमधुर सम्झनाहरूले आफैँमा पुष्पित र पल्लवित छ ।
विगत फर्किए वर्तमानमा हराउनु पनि हराउनु हो सायद …! सम्झनाहरूमा बयली खेल्नु पनि खेल्नु हो । उकालो चढेर चौतारीमा एकछिन बस्नु बिसाउनु । पाइला–पाइला हिँडेको सासलाई एकचोटी आराम गराउनु । त्यसपछि शीतल अनुभवको ऊर्जाले फेरि उस्तै–उस्तै शक्ति–सामथ्र्यले अगाडि पाइला चाल्नु यात्राको एउटा गतिशील अध्याय हो ।
दुर्गमको दुःख आफ्नो ठाउँमा होला तर दृश्यपानको तृष्णाले कत्ति पनि धित नमर्ने । हेरिरहौँ आँखामा अटेसमटेस दृश्यका कति मनोरम छटाहरू । देखिरहौँ मनैदेखि हरपल तिनै सुन्दर प्रकृतिका पाखापखेराहरू । आहा, साँच्चै कति मनोहर प्रकृति ! आँखामा राखे पनि नबिझाउने । मनमा राखे पनि नबिर्सिने । बिर्सेर पनि सम्झना आउने । सम्झनाले खुसी भित्रभित्रैबाट प्रकट गराउने । हाम्रो अनमोल प्रकृतिको गौरव ।
सधैँ आँखामा झलझली । सधैँ मनमा ताजा यादहरू । यात्रा हिँडेपछि यस्तो पो यात्रा गर्नु ! उडौँ जस्तै बायुपङ्गखी वेगबतासले । सारा सुन्दरतालाई पिएर तृप्त भइहालौँ जस्तै बालसुलभ रहरहरू । त्यही रहरले कुत्कुतिँदै यात्रामा आफैँलाई भुल्नुको आनन्द । कति रमाइलो । कति घमाइलो ।
जता हे¥यो उतै, उस्तै खुल्ला पाटन । त्यस्तै हराभरा धरती । मन हरदम खुसीले पागल । मन हरक्षण चञ्चल ।

अल्छी र आलस्य छैन । पीडा र तनाव छैन । देख्नुको आनन्द । हिँड्नुको कठिनाइ तर देख्नुको प्रीतिकर आभाहरू । कत्ति नथाक्ने मन । कत्ति नअघाउने आँखा । कति लोभी र भोको । देख्नु र हेर्नुको, पुग्नु र रमाउनुको धोको र ध्याउन्न कति–कति !?
अलग्ग भूगोल । अलग्ग सौन्दर्यको सौगात र सुवास मगमगाइरहेको । प्राकृतिक मुस्कान छचल्किरहेको । मौलिकताको पृथक अध्याय !
अनेक विम्ब, अनेक प्रतिविम्ब, अनेक रूपरङ र अनगन्ती जीवनका तरङहरू ।
प्रसिद्ध रारातालको यात्रामा पर्ने निकै अपठ्यारो बाटो भएको चङ्खेली लेक । जहाँ देखिएका थिए हिमाली छटा र पहाडी तरेलीका लमतन्ने श्रृङ्खला । जहाँ टेकिएको थियो– हिउँले भिजेका सेताम्मे लेक । चिसो मौसममा पनि न्यानो अनुभूति । अलग्ग यात्रानुभको प्रथम पहेली ।
एक क्लिकको यो झिल्कोमा कति धेरै अनुभूतिका खातहरू । चङ्खेली लेकका सेताम्मे बिस्कुनहरू । हिउँले भिजेका धर्ती । सेतो रङको क्यानभासमा प्रकृतिको सुन्दर चित्र !
‘राराताल !’ सायद नाम उच्चारण गर्नासाथ पनि मनभित्र शान्तिको लहर फैलिन्छ । तर त्यो दिन म राराताललाई हेर्दै थिएँ एक अलग्ग दृष्टिबाट चङ्खेली लेकको सेताम्मे भिजाइबाट । टेकिएको थियो मेरो पाइला त्यहाँ, जहाँ हिउँ आफैँले लेखेको जस्तो लाग्थ्यो एउटा मौन कविता । त्यहाँ प्रकृतिले आफ्नै हस्ताक्षरले कोरेको थियो सौन्दर्यको आकृति । तुँवालो, भुइकुहिरो र सारा प्रदूषण पन्छाएर उदाङ्ग देखाएको थियो हिमाली छटाको अद्भुत क्यानभास ।अन्ततः निर्वस्त्र सौन्दर्यको प्रकृतिमा मन रोमाञ्चित हुन पुग्थ्यो ।
रारा पुग्ने बाटो आफैँमा एउटा काव्य हो उकाली, ओराली, टाकुरा, गोरेटो र ढिस्काहरूले खिचेको । तर चङ्खेली लेकको त्यो एउटा मोड, त्यो एउटा क्षण जहाँ चिसोले कापेका मेरा औँलाहरूमा पनि अनुभूतिहरूले ताप दिइरहेका थिए । त्यो मेरो यात्राको प्रथम पहेली थियो । यहाँसम्म आइपुग्दा यात्राको थकान होइन, यात्राकै सौन्दर्यले मेरो मुटु भारी भएको थियो । जुम्लादेखि हिँडाइको क्रम रोकिएको थिएन । राराताल नपुगी विश्राम नलिने मनःस्थितिले साहसिक पाइला उत्साहले हिँडिरहेका थिए ।
हावामा न त कुहिरो थियो, न धुवाँ । तर आँखाभरि त छायाहरू मात्र थिए । लुकेको सुन्दरताका आवरणहरू हिमालको, पहाडको, अनि मेरो भित्र–भित्रैबाट प्रस्फुटित भइरहेको थियो । चङ्खेली लेकमा देखिने ती लमतन्ने तरेलीहरू, सेता धर्काजस्ता लेकका छेउछाउ उभिएका अग्ला रुखहरू । तिनको फेदमा मौन बसेको बूढो रुखको ठुटो कसैलाई वर्षौंदेखि पर्खिरहेझैं लाग्थ्यो । यी सबै मिलेर एउटा दृश्य मात्र होइन, अनुभूतिको अनेक गाथा बुनिरहेका थिए ।
सामान्यतया यात्रा शरीरको अभ्यास हो । तर त्यो चङ्खेलीको यात्रामा मैले आत्माको व्यायाम गरेको महसुस गरें । हिउँको सेतो चिसोले आत्मा पनि धोएझैँ भयो । फेरि त्यो झिल्कामा, एक क्लिकमा समेटिएको त्यो क्षण कतैबाट निस्किएको अनुभूतिका खातहरू, जुन लेखिँदैनन्, केवल अनुभूति हुन्छन् ।
शायद साहित्य भनेकै यही हो जहाँ एक दृश्यले हजार भावनामाथि हस्ताक्षर गर्छ । यात्रा भनेकै जहाँ पाइला टेकिँदैन, मन टेकिन्छ । आँखाले हेरिँदैन, मनले देखिन्छ । यथार्थमा हृदयले महसुस गर्छ । अनि त्यहाँ एउटा कलात्मक र काव्यमय सम्झना सधैँका लागि अंकित भएर रहन्छ ।
राराको यात्रामा मैले चङ्खेलीमा त्यो सेताम्मे लेक छुनु मात्र होइन, मनभित्र डुबेको थिएँ । आफैँभित्रको गहिराइलाई पनि । त्यहाँ हिमालभन्दा अग्ला विचार थिए, हिउँभन्दा चिसा चिन्तनहरू । अनि त्यसैभित्र कहीँ कतै तातो अनुभूतिको आगो, जसले अझ बाँच्नुपर्ने प्रेरणा दिन्थ्यो ।
लेख्नुको आनन्द पढेर कहाँ पाउनु ? पढ्नुको आनन्द पनि लेखेर कहाँ सक्नु ? मन भएर मात्रै पनि नहुँदोरहेछ । समय र फुर्सद मिलेर पनि नहुने रहेछ । बरु बेफुर्सद र व्यस्ततामै जिन्दगीको बेग्लै सम्प्रेषणका स्वादहरू । त्यही स्वादमा तङ्ग्रिएका अङ्ग–अवयव । ऊर्जावान बनेका तनमन ।
अन्ततः तस्बिरसँगसँगै विगत कालखण्डको यात्रामा तरङ्गित हुनुको बेग्लै मज्जा ! यात्राका यादहरूमा पुनः पुग्नु, झुम्नु र रम्नुको बेग्लै हर्ष !!
भनिसाध्य छैन यात्राका प्रत्येक दृश्य र दर्शनका कुराहरू .. ! लेखेर लेखिसकिँदैन । बाँकी रहन्छ अनुभूतिका उच्छवासहरू । अधुरै रहन्छ लेखनका कुराहरू …!
यादहरू धेरै ‘प्रिय’ हुन्छ । यादहरूका ‘पोकापन्तुरा’ खोलेर कहिल्यै सकिँदैन । ‘मनचिन्ते झोला’ जस्तै जति झिके पनि नरित्तिने, नसिद्धिने कहिल्यै पनि । हेर्दा खोक्रो छ तर भरिलो, रसिलो अनुभवहरूको उरुङखात ! चङ्खेली लेखमा देखेका सेताम्मे हिउँका बिस्कुन जस्तै ।








