
चर्चामा पुस्तक
आत्मवृत्तान्त जीवनी
आफ्ना जीवनका साँढे आठदशकको विभिन्न अनुभव र अनुभूतिहरुलाई समेटेर लेखिएको आत्मवृत्तान्त । जसमा सामाजिक जीवन र परिवेशका विविध जिम्मेवारी बहन गर्ने क्रमका भोगाई समेत समावेश गरिएका छन् । ्िशक्षण पेशामा लामो समय कार्यरत रहेका पोखरेलले इमान्दार भएर आफ्ना वारेमा लेखेका छन् । उतिवेलाका दुख पीडाहरु,समाज भन्दा अगाडि बढ्न खोज्दा आएका उल्झनहरु समेतको फेहरिस्त कथा जस्तै सरल बगाएर लेखेका छन् । धेरै दुख र कष्टहरुसँग पौंठेजोरी खेलेका उनले विभिन्न आरोपहरुको सामना गर्दै कर्तव्य पथमा अडिग भएर लागिपरेका छन् । इमान्दार हुँदाको आत्मसन्तुष्टी कति हुन्छ भन्ने जानकारी दिएका छन् । यो उनको मात्र नभएर त्यो समयको जानकारी गराउने महत्वपूर्ण कृति हुनसक्छ ।
कृतिमा विचारको चिन्तन पनि पढ्न पाइन्छ । विभिन्न किसिमका विश्लेषणहरु बुझ्न पाइन्छ । जीवनको सिंगो भोगाइको गाथा हेर्न पाइन्छ । पोखरेलको १५ औं कृतिमा उनको समयको सम्पूर्ण तस्वीर कोरिएको छ ।
आत्मवृत्तान्त जीवनीलाई नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.६५०। राखिएको छ ।
उरमाल
आदिवासीको कथामाथि लेखिएको छुदेन काविमोको उपन्यास हो । चिया वगानका माया प्रेमको कथा हो । चियाका पत्ति टिप्नेहरुको दैनिकी लपेटिएको छ यसमा । उनीहरुका सपनाहरु पोखिएको छ । सपना पुरा गर्ने लालसामा गरिएका दुखकष्ट र सघर्षको कथा बुनिएको छ । ती चियावगानमा ज्याला मजदुरी गर्ने श्रमिकहरुको दुखहरु,वेचैन जीवनका छटपटीहरु बडो मार्मिक रुपमा चित्रण गरिएको उपन्यास हो यो ।
विभिन्न पात्रहरुद्धारा उनीहरुका कथाहरु उन्ने प्रयास उपन्यासले गरेको छ । यसमा चियावगानमा काम गर्ने कमानेहरुको विभिन्न समय सन्दर्भका कथाहरु मार्फत त्यहाँ उनीहरुप्रति हुने गरेका अनेकौं शोषणका तानावानाहरुको तरिका उपन्यासमा मज्जाले चित्रण गरिएको छ ।
सरल शब्दशैली,मीठासयुक्त भाषा,काव्यिक लयमा बगेका सम्वादले उपन्यासले पाठकको मन खिच्छ ।
उरमाललाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रुं६९८। रहेको छ ।
युगसन्धि ।।
वैदिक प्राचीन कथानकलाई सुन्दर ढंगले वेद,उपनिषद,रामायण लगायतका कथाप्रसंगहरु जोडेर उपन्यास लेखिएको छ ।
पूर्विय दर्शन साहित्यका महापुरुष वशिष्ठ,विश्वामित्रहरुलाई चरित्र नायकको रुपमा उभ्याइएको छ । उनीहरुको व्यक्तिगत स्वभाव र चरित्र तथा उनीहरुसँग सम्बन्धित विभिन्न प्रसंगहरुमा कथा बुनिएको उपन्यास हो युगसन्धि । प्राचीन प्रसँगहरुलाई आधुनिक परिप्रेक्ष्यमा ढालिएको छ ।
पुरातन समय,विषय,भूगोल तथा कथानकतामा केही क्रमभंगता गरिएको छ । कृतिले वैदिक समाजका विभिन्न पक्षहरुलाई समेट्ने प्रयास गरेको छ । उतिवेलाका कथामा स्वैरकाल्पनिकताको लेपन लगाइएको जस्तो देखिने उपन्यास पठनीय छ ।
उपन्यास ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित रहेर आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष तथा रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको
पूर्वीय मान्यताका धेरै विषयवस्तुहरुको कहिं न कहिं कुनै न कुनै रुपेण जानकारी दिन उपन्यास सफल छ । जहाँ संस्कृति,भूगोल,पात्र,उनीहरुको भूमिका चित्रण गरिएको छ । आर्य सभ्यताको विकास र विस्तारको फेहरिस्त पनि देखिन्छ ।
सरल शब्दशैलीमा उपन्यास बगेको छ ।
युगसन्धिलाई परिचय पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५५०। रहेको छ ।







