
काठमाडौं। काठमाडौंको नक्सालमा रहेको नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानबिन गरेर मुद्दा दर्ता गरेको हो।
सरकारी वकिलको कार्यालय अनुसार बाल संगठनका तत्कालीन अध्यक्ष ७१ वर्षीया रिता बैध्य , संगठनका तत्कालीन उपाध्यक्ष ६६ वर्षीय तुलसी नारायण श्रेष्ठ, महासचिव ७० वर्षीय गणेश भक्त श्रेष्ठ, सदस्य ५३ वर्षीय कृष्ण शंकर साह, संगठनका अख्तियार प्राप्त महासचिव ७५ वर्षीय श्याम कुमार आले, अख्तियार प्राप्त महासचिव ५४ वर्षीय सुवास कुमार पोखरेल, संगठनका तत्कालीन महासचिव ६२ वर्षीय प्रचण्ड राज प्रधान, तत्कालीन महासचिव ६९ वर्षीय रामकाजी गुरुङ कोने, तत्कालीन उपाध्यक्ष ६८ वर्षीय योगेन्द्रबहादुर शाहीविरुद्ध मुद्दा दायरबुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
त्यसैगरी संगठनका तत्कालीन उपकोषाध्यक्ष ७२ वर्षीय दीपकदास श्रेष्ठ, बृहस्पती विद्यासदनका सञ्चालक ५० वर्षीय प्रवीण राज जोशी, बृहस्पती विद्यासदनका तत्कालीन सञ्चालक ७२ वर्षीय मुरारी निधि तिवारी, बृहस्पती विद्यासदनका अध्यक्ष ८२ वर्षीय पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, विद्यासदनका सञ्चालक ४४ वर्षीय अभिनव सिंघानिया, सञ्चालक ४४ वर्षकै सिद्धार्थ केडिया, र विद्यासदनका सञ्चालक ७१ वर्षीय कीर्ति प्रसाद पाण्डेयविरुद्ध मुद्दा दायर भएको छ ।
उक्त प्रकरणमा तीन जना भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको छ। बृहस्पति विद्यासदनका सञ्चालक भारतीय नागरिकहरू अभिनव , केडिया र पाण्डेय भारतीय नगारिक हुन ।


