
काठमाडौँ।रामसुन्दरको नेतृत्वमा होटल एसोसिएसन नेपालद्वारा बागमती प्रदेश तदर्थ समिति घोषणा
काठमाडौँ। रामसुन्दर बकेको अध्यक्षतामा उपाध्यक्ष नेत्रजंग थापा,महासचिव शिवराज दुवाडी,कोषाध्यक्ष लीना खड्का
सदस्य समीर लामा, राजाराम सिलवाल, विनोद जिरेल ,सल्लाहकार घनश्याम श्रेष्ठ, ज्ञानेन्द्रकुमार बिष्ट, प्रेमकान्त श्रेष्ठ र सत्यराम सुवाल रहेको अध्यक्ष रामसुन्दर बकेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यका साथ मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रवर्द्धन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकासलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ। पर्यटनसँग सम्बन्धित सडक, पदमार्ग, सूचना केन्द्र, विश्रामस्थल, सम्पदा संरक्षण तथा प्रचारप्रसारका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो। निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्ने, स्थानीय तहसँग समन्वय गरी पर्यटनलाई रोजगारी र आयआर्जनसँग जोड्ने तथा डिजिटल प्रवर्द्धनमार्फत बागमती प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा मन्त्रालय निरन्तर सक्रिय रहेको उहाँको भनाइ छ। साथै, पर्यटन क्षेत्रको दिगो विकासका लागि नीति सुधार, सेवा गुणस्तर अभिवृद्धि, पर्यटन व्यवसायीको क्षमता विकास र पर्यटकमैत्री वातावरण निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको सचिव सुवेदीले उल्लेख गरे ।
होटल एसोसिएसन नेपालको बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा चयन भएपछि पर्यटन तथा होटल व्यवसायी रामसुन्दर बकेले बागमती प्रदेशका होटल व्यवसायीहरूको साझा समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले होटल व्यवसायलाई समयानुकूल बनाउन प्रविधिमैत्री सेवा, डिजिटल सूचना प्रणालीको विकास, सेवा गुणस्तर अभिवृद्धि तथा व्यवसायीबीच समन्वयलाई सुदृढ बनाउने योजना अघि सार्नुभयो। सरकारले हात्ती सफारी सञ्चालनमा लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै संरक्षण र पर्यटनबीच सन्तुलन कायम गरी दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखे।
नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले कानुनी रूपमा सञ्चालन भएका होटलहरूको प्रवर्द्धन, व्यवसायीका हकहितको संरक्षण, नीति सुधार र पर्यटनमैत्री वातावरण निर्माणका लागि तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाए। उनले पर्यटन उद्योगलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्न नवीन सोच, प्रविधिको अधिकतम प्रयोग र व्यवसायीको मनोबल बढाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने विश्वाससमेत व्यक्त गरे।


