
आज लोकतन्त्र दिवस : सबैले लोकतन्त्रको महशुस गर्न पाउन
आज १९ औं लोकतन्त्र दिवस । दुई दशकको संघारमा टेक्दै गरेको युवा वयको लोकतन्त्र राजनीतिक दल,तिनका सत्ताकेन्द्रीत स्वार्थ,चाकडीको जालमा जेलिएको संकेत मिल्दैछ । जनताका आशा र भरोसामाथि जहिल्यै संविधानत् स्थापित र सञ्चालित राजनीतिक दलहरुको उदासिनता उस्तै छ । कता कता कुइरोको काग जस्तो झिनामसिना कुराहरुमा अल्मलिएका छन् राजनीतिक दल र तीनका नेता । लोकतन्त्रमा लोकतान्त्रिक मूल्य र मान्यताको खिल्लि उडाइनु किमार्थ राम्रो संकेत हुँदै होइन्। आफ्नो अमूल्य जीवनउत्सर्ग गर्नेहरुको आत्माले पनि सराप दिने अवस्था आउनु हुन्न् भन्ने लाग्छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरंकुशता पराजय भएको विसं २०६३ वैशाख ११ को महत्व ज्यादै छ । तर जनतालाई किन त्यो महत्व ब्झाउन सकिएन् त्यो राजनीति गर्नेहरुले गम्भिर रुपमा समीक्षा गर्नु जरुरी छ कि छैन् ? स्वस्थ लोकतान्त्रिक संस्कारको हामीले किन विकास गर्न सकेनौं ? यसको हेक्का हुन पर्छ कि पर्दैन् ?संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधानवाद,विधिको शासन,शक्तिपृथक्कीकरण,नियन्त्रण र सन्तुलन,जनअधिकार,जनतामा निहित सार्वभौमसत्ता,वालिग मताधिकार,विचार र अभिव्यक्तिको स्वतन्त्रता,प्रेस स्वतन्त्रता,मानवअधिकारको प्रत्याभूति लगायतका विश्वव्यापी मूल्य र मान्यताको हेक्का राख्नु पर्छ कि पर्दैन् ? यी कुराहरुको परिपालना भएन भने लोकतन्त्रमा आघात पर्छ । दुई दशक नपुग्दै व्यवस्थाको विकल्प खोज्नेहरु सडकमा आउनु लोकतन्त्रको सहि अभ्यास नभएको हो भन्ने कुरामा राजनीतिक दलहरुको ध्यान जानुपर्दछ । राजनीतिक अस्थिरताको कारण पनि प्रतिगामीहरु सल्वाउन सक्ने अबस्था आएको कुरा मध्यनजर गर्नुपर्दछ । देश र जनताप्रति राजनीतिज्ञहरु सेवा भावले समर्पित भएर लागे लोकतान्त्रिक गणतन्त्रको पहरेदार जनता हुन्छन् डराउनु जरुरी छैन् । अहिलेसम्मका प्राप्त उपलब्धिहरु अझै संस्थागत विकास र रक्षा गर्न जरुरी भएको छ ।
भ्रष्टाचारले मुलक थिलथिलो भएको छ । जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसामा पनि राजनीतिज्ञहरुको गिद्धे नजर परेका थुप्रै उदाहरण सहकारी ठगी प्रकरणहरुले देखाइसकेका छन् । सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाइसकेको छैन् । सत्ता सञ्चालक र विभिन्न राजनीतिक उपल्लो ओहदामा विराजमान महानुभावहरु थुप्रैले देखाएका गैह्र राजनीतिक चरित्र,भ्रष्टाचार,राजनीतिक हस्तक्षेप र सुशासन विरोधी क्रियाकलापहरुले जनता निराश देखिएका छन् ।
मुलुकले अब आर्थिक उन्नति खोजेको छ । रोजगारीका अबसरहरु सृजना होस भन्ने चाहेको छ । आयात असाध्यै अनियन्त्रित भएकोले निर्यात गर्ने परिस्थिति निर्माण गर्न खोजेको छ । आर्थिक परिसूचकहरुले अभावका खतराका घण्टीहरु बजाउँन खोजिरहेको अवस्था विद्यमानता छ । तसर्थ,अव सबैको उद्धेश्य समुन्नत नेपाल,सुखी नेपाली सहितको आर्थिक उन्नतिलाई लक्ष्य लिएर अघि बढ्नुपर्दछ । नीतिगत रुपमा कमिकमजोरी भए तीनलाई सच्याएर अघि बढ्नु पर्दछ । देशमा लगानी मैत्री बातावरण सृजना हुनुपर्दछ । यसो भयो भने मात्र आर्थिक सम्वृद्दिको ढोका खुल्नेछ ।
लोकतन्त्रप्रति जनता दिग्भ्रमित हुने काम दल र तीनका नेताहरुबाट हुनु भएन् । जनतालाई आशावादी बनाउन पर्यो निराश पार्नु भएन् । सबै जिम्मेवार बनौं । विगतका भूलहरुबाट पाठ सिकौं र सच्चिएर अघि बढौं ।लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
१९ औं लोकतन्त्र दिवसको हार्दिक शुभकामना ।









