
काठमाडौं । ललितपुर सिटी एफसी तेस्रो संस्करणको फाइनलमा पोखरा थन्डर्सविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै लगातार दोस्रोपल्ट च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन इमोह इजेकेल र पापा केबेले गोल गरे ।
खेलको ४२औँ मिनेटमा इमोहले गोल गरेपछि ललितपुरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पोखराका सुदील राईले६४औँ मिनेटमा गोल गरेपछि पोखरा खेलमा फर्कियो ।
तर, ७४औँ मिनेटमा केबेले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखेका थिए । केबेको यही गोल निर्णायक बनेपछि ललितपुरले लगातार दोस्रोचोटि उपाधि चुमेको हो ।
भाटभटेनी सुपरमार्केटको स्वामित्वमा रहेको ललितपुरले सन् २०२३ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको फाइनलमा उपाधि जितेको थियो ।









