
काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज बिहीबारदेखि सुरु भएको छ । प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तानिने छ । विक्रम संवत् नयाँ वर्ष आगमनको तीन दिन अगाडि छाने शैलीमा बनाइएको तीनतल्ले काठको भैरवनाथको रथलाई दुवैतिरबाट डोरीले तान्ने गरिन्छ ।
जात्राको पहिलो दिन आज नेपाल भाषामा “द्यो क्वहँ विज्याइगु” अर्थात् भगवान् भैरवनाथ बिराज मान रथ तल्लो टोलमालग्ने गरिन्छ । शान्तिपूर्ण रूपमा जात्रा मनाउन गुठी संस्थान र भक्तपुर नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत देशका विभिन्न भागबाट हजारौं मानिसहरू भक्तपुर आउने गर्दछन् । यो जात्रा आगामी वैशाख ५ गतेका दिन भैरवनाथको रथ तानेर समापन हुने गर्दछ ।





