काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतिमा अघि बढ्न नेताहरूलाई सुझाव दिएका छन्। सिंगापुरबाट उपचार गरेर फर्केका देउवाले महाधिवेशनबारे पार्टीमा विवाद पेचिलो बन्दै गएपछि सहमतिको प्रयासका लागि छलफललाई तीव्रता दिएका छन्।
शुक्रबार बिहानैदेखि सभापति देउवाले नेतासँगको छलफललाई तीव्र्ता दिए। संस्थापन एवं देउवा पक्ष फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन सम्पन्न गर्न कठिन हुने तर्क गर्दै आएको छ। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष भने नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने अडानमा छ।
चार वर्षअघि सम्पन्न कांग्रेसको १४औं महाधिवेशनले तोकेको वर्तमान पार्टी नेतृत्वको आवधिक कार्यकाल मंसिर ९ गतेबाट सम्पन्न भइसकेको छ। पार्टी विधानले विशेष अवस्थामा महाधिवेशन एक वर्ष पर सार्न सकिने सुविधा दिएको छ। महाधिवेशन प्रतिनिधिहरूले विधि पुर्याएर हस्ताक्षर दर्ता गराएमा ९० दिनभित्र अधिवेशन डाक्नुपर्ने प्रबन्ध पनि उल्लेख छ। सोहीअनुसार विशेष अधिवेशनका पक्षधरले विशेष महाधिवेशनको विकल्प नभएको अडान लिँदै आएका छन्।
देउवाले शुक्रबार आफू निकटका ७ शीर्ष नेताहरूसँग छलफल गरेका थिए। विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, विजय गच्छदार, डा। शशांक कोइराला र डा। प्रकाशरण महतलगायत छलफलमा सहभागी थिए। प्रवक्ता डा। प्रकाशशरण महतले निर्वाचनअघि महाधिवेशन गरे पार्टीलाई क्षति हुने कुरा आफूहरूले देउवालाई जानकारी गराएको बताए।
