
काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता कोषले २०८१ सालको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’ त्रैमासिक साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजाललाई प्रदान गरेको छ ।
रिजाललाई नगद राशि रू २५०००। सहित सम्मानपत्र प्रदान गरिएको हो।
राजधानीमा आयोजित कार्यक्रममा अभिव्यक्ति पत्रिकाका संरक्षक नगेन्द्रराज शर्माले ५० वर्षअघि अभिव्यक्तिको प्रकाशन गर्दाका विभिन्न रोचक प्रसंग स्मरण गर्दै साहित्यिक पत्रिका पैसाले मात्र नभई निरन्तरको साधनाले प्रकाशित हुँदै आएको उल्लेख गरे । उनले अभिव्यक्तिको प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
साहित्यिक पत्रिका रचनाका प्रधान सम्पादक रोचक घिमिरेले साहित्यिक पत्रकार र सरकारको सम्बन्धको चर्चा गर्दै सरकारले यस्ता रचनात्मक काममा कहिल्यै ध्यान नदिएको र सहयोग समेत नगरेको बताए। साथै उनले अभिव्यक्तिसँग जोडिएका केही स्मरणहरु पनि सुनाए ।
पुरस्कार कोषका सदस्य कवि विधान आचार्यले पुरस्कृत पत्रिकाको चर्चा गर्दै रिजालको कामको प्रशंसा गरे । पुरस्कृत पत्रिकाका सम्पादक रिजालले बारा जिल्लामा पत्रिका दर्ता गरेर विगत ३० वर्षदेखि प्रकाशन गर्दाका आरोह अवरोहबारे उल्लेख गरे । उनले आफूलाई यस पुरस्कारले थप दायित्वबोध गराएको बताए ।
पुरस्कृत पत्रिकाको १०७ औं अंकसम्म प्रकाशित भैसकेको छ ।
कोषका अध्यक्ष साहित्यकार पवन आलोकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन किशोर पहाडी,स्वागत मन्तव्य देविका तिमल्सिना र धन्यवाद ज्ञापन शंकर भारतीले गरेका थिए ।
यसअघि साहित्यिक पत्रकारहरू रोचक घिमिरे, रामप्रसाद पन्त र चूडामणि रेग्मीले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।

