
शाब्दिक अर्थ गर्दा आगारको अर्थ घर हो भने कूटको अर्थ हो गजूर अत: यी दुवै तत्वयुक्त घरलाई कूटागार भनिन्छ ।
साधनमालाको कूटागार लक्षणमा चारपाटे, चारद्वारहरू आठवटा स्तम्भ (लठ्ठा) ले शोभित र तह तह चार तह वेदी भएको तथा चारै द्वारमा चारवटा तोरणले सुन्दर देखिएको मन्दिरलाई नै कूटागार भनिन्छ भनी यसरी व्यक्त गरेको छ –
चतुरस्रं चर्तुद्वारं अष्टतम्भोपशोभितम् ।
चतुर्वेदीपरिक्षिप्तं चतुस्तोरणमण्डितम् ॥३३
(३३. साधनमाला- पृ. २२ )
मच्छिन्द्र वहालको करुणामयको देवल अर्थात् मन्दिर आकारको घरमा जस्तै छाना र तल्ला भएको तथा गजूर पनि भएको चैत्यलाई यहाँ कूटागार चैत्य भनी वर्णन गरिएको छ । विदेशीहरू यसैलाई पागोडा स्टाइल चैत्य भन्दछन् । यस्ता पागोडा स्टाइल (कूटागार चैत्य) मा दुई तीन तल्ला भएको मन्दिरका रूपमा व्यक्त गर्ने तह तह प्रस्तर छानाहरू स्पष्ट देखाइएका हुन्छन् ।
यसरी तह तह छाना भएको पागोडा (कूटागार) भनिने घर निर्माण एवं देवस्थल निर्माण शैलीलाई नेपालको आफ्नै मौलिक शैली मानिएका छन् । यस्ता शैलीका मन्दिरहरू लिच्छविकालको शुरुदेखि बनेको कुरालाई प्रमाणित गर्ने तथ्य सातौं शताब्दीको शुरुमा नेपाल आएका चिनिया यात्री ह्वेनसांगले आफ्नो यात्रावर्णनमानेपालका मानिसहरू कलाकौशलमा अत्यन्त निपूण भएको र भव्य एवं सुन्दर बौद्ध तथा हिन्दू देवालयहरू नजिक नजिकै खडा भएको उल्लेख गरेको पाइनु हो । तर नेपालको मौलिकता कहलिने यो कूटागार शैली दक्षिण एशिया र चीन, जापान, बर्मा आदि मुलुकमा पनि नपाइने होइन । तर नेपालको कूटागार शैली (पागोडा) र अरु देशको पागोडा शैलीको मन्दिर निर्माण शैली र श्रृंगारमा एकरूपता पाइँदैन । हाम्रा नेपालका मन्दिरहरूमा कला, संस्कृति एवं धर्म दर्शनका विभिन्न रूपको संगम पाइन्छ । हाम्रो हिमाली क्षेत्र नेपालमा पहिला धेरै नै हिउँ पर्ने र हिउँको बोझ र प्रहारले तद् तद् मन्दिरलाई कुनै असरनपरोस् भन्ने हेतुले यस्तो कूटागार शैलीको प्रचूर मात्रामा प्रयोग भएको हो भन्ने विद्वानहरूको भनाइ छ । त्यस्तै धुपीको रुखको अनुकरण गरेर नै हिउँबाट बचाउन यस्तो शैलीको उत्पत्ति भएको हो भन्ने विश्वास हाम्रा काका प्रसिद्ध कलाकार एवं बैद्य स्व. मनवज्रको पनि रहिआएको छ ।
यी उपर्युक्त विचारहरूको आधारमा कूटागार शैलीका हाम्रा चैत्यहरूलाई पुरातन चैत्य शैलीमा लिनु उपयुक्त देखिन्छ । पुराना बही एवं वहालहरूमा एक न एक यस्ता शैलीको चैत्य अनिवार्य रहेको हुन्छ । उदाहरणको लागि ज्याठा छुस्यावहाल (गुणाकर महाविहार) अवस्थित कूटागार शैलीको चैत्यको यहाँ चर्चा गरुँ । यो गुणाकर महाविहार गुणज्योति भन्ने गुंविहार साँखुबाट काठमाडौँ आएका हेनाकर महाविहारवासी वज्राचार्यका सन्तानले ने.सं. ७०० तिर निर्माण गरेका थिए । तर यहाँ अवस्थित यो कूटागार शैलीको चैत्य कसले बनाएको हो त्यो कुरा देखाउने शिलालेखहरू त यसमा छैनन् तर पनि यो चैत्यको प्रकृति हेर्दा यो चैत्य ने.सं. ७०० भन्दा अघिको हुनुपर्ने आभास मिल्छ । यो चैत्य चारकुने वेदीमा रहेको छ । त्यस वेदीमाथि फेरि बुट्टेदार दुई तह वेदी पछि कलात्मक चार दिशाका खम्बाका बीचमा सुरम्यद्वार बनाई त्यस भित्र उभिरहेका बुद्ध बोधिसत्वहरू राखिएका छन् । पूर्वतिरका अमिताभ लोकेश्वर आफ्नो दुवै हात ध्यानी अमिताभ बुद्धले जस्तै मिलाई उभिरहेको छ । त्यस्तै उत्तर दिशामा कृतांजलीमुद्रामा कृतांजली लोकेश्वर उभिरहेका छ ।
दक्षिण दिशामा पद्मपानी जस्ता देवता अभयमुद्रामा (अमोघपाश लोकेश्वर) उभिरहेको छ, पश्चिम दिशामा पनि एवं रितले करुणामय पदमपाणी लोकेश्वर मृगचर्म समेत ओधि उभिरहेको छ । यस तल्लाभन्दा माथि दुई तह छाना देखाइएको छ । अनि त्यो भन्दा माथिको तहमा छेपु र सर्पयुक्त तोरण भएको स-सानो ख:प्वाल (खोपा) हरू चारै दिशामा राखिएका छन् । ती ख:प्वालको द्वारको चारै कुनामा तहतह वेदी जस्तै बनाइएको छ भने दक्षिण र उत्तरको ख: प्वालको मध्य भागमा चारकुने प्वाल पारेको देखिन्छ ।

तर पश्चिम र पूर्वको ख:प्वालको मध्य भागभा चारकुने प्वालको साथै भद्रपीठमा क्रमश कमल एवं बज्र वामण्डल आकारको सानो बुट्टा पनि राखिएको छ । अनि यो तल्लाभन्दा फेरि माथि मसिना मसिना दुई तह वेदीमाथि पद्मावली सहितको चैत्य विम्ब (गर्भगृह) राखिएको पाइन्छ । तदनन्तर हर्मिकायुक्त गजूर पनि राखिएको देखिन्छ । यो विहारमा पाइने अरू स-साना बुद्ध बोधिसत्वको मूर्तिरहित स्तूपाकार चैत्यमा पनि तहतह छानाहरू प्रष्ट कुँदेको देखिन्छ । त्यस्तै यो विहार निर्माताका पुर्खाका त्योडस्थित चोकमा पनि यस्तै प्रकारको गर्भगृहभएको बोधिसत्वहरू उभिरहेको कूटागार शैलीको चैत्य (चि.नं. २५-२६) पाइनुबाट यो चैत्यको केही प्रतीकात्मक अर्थ विशुद्धि होला कि भन्ने शंका मनमा उठ्नु अस्वाभाविक

छैन ।अरू महाविहार एवं बहीहरूमा यसप्रकारको कूटागार चैत्य पाइए पनि सबै जस्तो चैत्यमा चतुर्बुद्धको मूर्ति पनि गर्भगृहमा अनिवार्य राखेको पाइन्छ भने चैत्यको सबभन्दा तल्लो तल्लामा बुद्ध बोधिसत्वहरू कहीं चतुष्कोणमा त कहीं अष्टकोण, द्वादश कोणको द्वारभित्र स्थापना गरेको पाइन्छन् । गुच्चा टोलको तहुँ वहाल, कुसुमवियालाछि झ्वावहालका साथै स्वयंम्भूमा पनि यसप्रकारको चैत्यहरू प्रशस्त मात्रामा भेटिन्छ । तर फरक के छ भने (गुणाकर) महाविहारमा र इन्द्रचोकबाट रंजना हल जाने नौमुग गल्लीको चैत्यमा ( चि.नं. २६) जस्तो चर्तुबुद्ध मूर्तिको सट्टा चारपाटे प्वाल भएको कूटागार चैत्य कहीं पनि भेटिएको छैन । यो अनुसन्धेय विषय हो ।









