
हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गरिरहेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन् ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए ।
उनीहरू त्यहाँ जडिबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएका थिए ।
फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अेखबहादुर रोकाय सम्पर्कविहीन छन् ।
त्यस्तै छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी शेरबहादुर बुढाका अनुसार पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन् ।
सम्पर्कविहीनहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
