
हाल नेपालमा पाइने चैत्यहरू मध्ये मूर्ति नभएको तर त्रयोदश भुवन अंकित गजूर वर्षाथालक, मा कमल, वज्र, विश्ववज्र र रत्न अंकित हलपौ र द्वार (प्रतिमागृह) एवं भद्रपीठ मात्र भएका स्तूप (चैत्य ) ( चि.नं. १६-१७) हरू विशेष उल्लेखनीय छन् । यी चैत्यहरूले श्रावकयान, महायान, मन्त्रयान र वज्रयानको विकास क्रमलाई इङ्गीत गरिरहेका छन् कि भन्ने आभास हुन्छ ।
श्रावकयानका अनुयायीहरले माटाका ढिस्को बनाई बीचमा सरल तरिकाले यष्टि (इन्द्रकील, यसीं) घुसारी मजबुत स्तूप बनाए भने महायानका अनुयायीहरूले नवग्रन्थ मध्येका सद्धर्मपुण्डरीका सूत्रको उपायकौशल्य परिवर्तमा बताइए अनुसार बालुवादेखि लिएर ढुंगा, ईंटा, धातु एवं काठको पनि चैत्य बनाउनु महान पुण्य हो, बुद्धत्व लाभ गर्ने उपाय हो भनी प्रेरित हुँदा विस्तारै ढुङ्गाका प्रस्तर चैत्यहरू बन्न थाले । यति बेलासम्म त्रयोदश भुवन युक्त गजूर राख्ने चलन शायदै थिए होला । जुन कुराको पुष्टि बुंगमा पाइएको गजूर नभएको तर गोल गर्भ गृहमाथि लिङ्गआकारको तीन तह अंकित यष्टिर टुप्पा भएको चैत्यलाई लिन सकिन्छ ।
तदनन्तर विस्तारै मन्त्रयानको उत्थान हुँदा पंचस्कन्धका प्रतीक पंचबुद्धहरूको मूर्ति गुप्त राखी केवल गर्भगृह मुनि वेदीको चारै दिशामा भद्रपीठ र प्रतिमागृहरुपी द्वारहरूका साथ साथै त्रयोदश भुवन अंकित गजूर र पंचबुद्धका प्रतीक चिन्हहरू पनि क्रमश: वज्र, रत्न, पदम, विश्ववज्र आदि हलंपौं मा कुँदिएर चैत्यलाई अझ सुन्दर रूप दिन थाले । महायान बौद्ध धर्मको नियम एवं पक्षलाई अनुसरण गर्दै मूर्ति नभएका तर द्वारमात्र भएका चैत्यहरू बनाइए पनि विस्तारै मन्त्रयान र वज्रयानले पनि चैत्यमा मन लगाउन थाले होला भन्ने अनुमान गर्न सकिन्छ । यसको उदाहरण स्वरूप महांकाल स्थानको पीपल बोट पछाडिको चैत्यलाई प्रस्तुत गर्न सकिन्छ । यस चैत्यमा सबभन्दा तल पेटी देखिन्छ । त्यसमाथि चारकुने परेको ढुङ्गामा चारैदिशामा सानो द्वार आकारको
बुट्टा कुडिएका भद्रपीठ जस्ता खोपाहरू छन् । यस चैत्यको खोपा माथिको द्वारमा पनि नेपाली परम्पराको तोरण (दंडाल) मा दुईहातले नागलाई समाती मुखले च्यापेको छेपुको जस्तो मूर्ति पनि कुदिराखेको छ । अनि यस द्वारको माथि पनि गोलाकार तीन तहको घेराहरू देखिन्छ । पहिलो तहको घेरामा पनि फेरि आठ द्वारहरू कँदिएका छन् । प्रत्येक द्वारमा त्यस्तै छेपुले नागहरू समाति रहेको तोरणहरू देखिन्छ । ती द्वारको दायांबाया आठवटा स-साना कमलमाथि चैत्यको आकृति कुदिएका छन् । यसमा पाइने विभिन्न सुन्दर कलात्मक बुट्टा, मिहीन ढुंगा र लोहलेपले त्यस समयका कलाकारितालाई व्यक्त गरिरहेको छ भन्दा अत्युक्ति नहोला । यी कलात्मकद्वारहरूको तेस्रो तल्लामा चैत्य मात्रमा पाइने अर्धगोलाकार गर्भगृह यथावत् नै छ तर गजूर हराइसकेको हुनाले यसको गजुर कस्तो छ अनुमान गर्न कठीन भएको छ।
यस्तै मूर्ति नभएको तर सर्प च्यापिरहेको छेपूयुक्त चतुर्द्वार, अष्टद्वार, द्वादशद्वार, षोड्षद्वार युक्त अशोक चैत्य, लिच्छवि चैत्य, भनिने चैत्यहरू ठमेल, ढोकाबहाल, चावहिल, तेवहाल, स्वयम्भू, टेकुदोभान, मुसुवहाल आदि ठाउँमा पाइन्छन् । तर ती द्वारहरू कुनै गोल आकारको त कुनै ढोका जस्तै लाम्चो आकारको पाइनु र विभिन्न चैत्यमा विभिन्न संख्याका द्वार पाइनुबाट बौद्ध दर्शनको दार्शनिक पक्षलाई त यी चैत्यहरूले इशारा गरिरहेको छैन भन्ने औत्सुक्य मनमा उठ्नु अस्वाभाविक भन्न मिल्दैन । फेरि यी चैत्यहरूको चतुर्दिशामा चतुबुर्द्धको संकेत गर्ने वज्र, पदम, रत्न, विश्ववज्र हुनु र त्रयोदश भुवन अंकित गजूर वर्षाथालक र गर्भगृह, अनिवार्यरूपमा हुनुबाट श्रावक, महायान र वज्रयान दर्शनका दार्शनिक पक्षहरूको एकलोलिभूत समिश्रणयुक्त श्रद्धा, भाव र कलाकारितालाई दर्शाउँछ भने परम्परागत नेपाली विशेषता छेपू (कीर्तिमुख) दुई हातले समाती मुखले च्यापी राखेको दुई नागयुक्त तोरण (टुँडाल ) लाई पनि नङ्ग र मासु जतिकै अत्याज्य सम्झी ग्रहण गर्दै आएको देखिन्छ । तर हालका चैत्यमा कीर्तिमुख राख्ने परम्परा हराइसकेका छन् । शायद यसो हराउँदै जानुको मुख्य कारण यसको महत्त्व नबुझ्नु वा बुझाउने व्यक्ति नपाइनु हुनसक्छ । हामीले हाम्रो धर्म, संस्कृति एवं परम्परालाई आधुनिकता एवं विकासका नाममा कदापी लोप गर्न दिनु हुँदैन । यो विचारनीय छ ।
वास्तवमा हामीले माथि चर्चा गरिएका मूर्ति नभएका चैत्य एवं स्तूपहरूलाई प्राचीन परम्पराका चैत्यमा गणना गर्नु उपयुक्त देखिन्छ । किनभने यस्ता चैत्य अशोक सम्राट् एवं चारुमतिले स्थापना गरेको चारुमति विहारको परिसरमा नै धेरै मात्रामा पाइन्छन् भने मुसुवहाल, टेवहाल आदि लिच्छिविकालका शिलालेखहरू भेट्टाईएका टोल, बहालमा विशेष गरी पाइएका नाताले पनि यी द्वार (प्रतिमागृह) मात्र भएको चैत्यलाई लिच्छिवि चैत्य भनिन्छ । मुसुवहालको यस्तै द्वारैद्वार भएको तर गजूर नभएको १० वटा चैत्यलाई कसैकसैले तारणी चैत्य भनेको सुनिन्छ । अर्थात् त्यहाँको जापतूंमा रहेको सुनको भ्यागुतो बाहिर जान नसकोस् भनी दशैं दिशामा मन्त्र गरि तारण राखेको हो भन्ने कथन छ । जे होस मुसुंबहाल, ज्यावहालको परिसरमा मूर्ति नभएका लिच्छिवि चैत्यहरू प्रचूर मात्रामा पाइनुबाट एकताका त्यस ठाउँमा बुद्धधर्मको ठूलो प्रभाव परेको रहेछ भन्ने ज्ञान हुन्छ । यो मौलिक चैत्यलाई संरक्षण गर्न बौद्धहरू अघि सर्नुपर्ने देखिन्छ । यी गोल र लाम्चा द्वारहरूको विविध संख्याले क्रमशः चतु आर्यसत्य, अष्टाङ्गमार्ग, द्वादशायतन, षोडश शून्यताको कुरालाई प्रतीकात्मक रूपले बोध गराउँदै वज्रयानलाई बुझाउन खोजेको होकि भन्ने भान हुन्छ । किनभने गुह्यसमाजलाई नवसूत्र ग्रन्थ (नव व्याकरण वा नवखण्ड) सूत्रमा समावेश गरिएपनि नव ग्रन्थका अरु सूत्रहरूसँग यो सूत्रको उद्देश्य एवं विचार मिल्दैन । विद्वान्हरूको भनाइनुसार गुह्यसमाजको सट्टा ती नवग्रन्थहरूमध्ये तथागत गुह्यक सूत्र हुनु पर्थ्यो भन्ने विचार रहिआएको छ । जुन तथागत गुह्यक सूत्र दुर्भाग्यवश हामीकहाँ उपलब्ध छैन । परन्तु महायानी ग्रन्थ शिक्षा समुच्चय र वोधिचर्यावतारमा तथागत गुह्यकको कतिपय कुराहरूको उद्धरण प्रचुर मात्रामा उल्लेख गरेको पाइन्छ । यी उल्लिखित तथागत गुह्यकका कुराहरूबाट यो ग्रन्थले वज्रयान होइन महायानका कुरालाई नै औंल्याउँछन् भन्ने विद्वान्हरूको विचार छ ।
अतः सुवर्णप्रभास सूत्र र गुह्यसमाज सूत्र निर्माण हुनुभन्दा पहिले बौद्ध दर्शनमा चर्तुर्बुद्ध एवं पंचबुद्धको उल्लेख नपाइनु स्वाभाविक छ । उपर्युक्त चैत्यहरूको आकारप्रकारबाट वज्रयानीहरूले सुरुमा चतुर्बुद्ध एवं पंचबुद्धका मूर्तिहरू प्रचार प्रसार गर्न नचाहेको र गुप्त रूपले मात्र ध्यान भावना गरी आराधना गर्ने गरेको कुरा पनि स्पष्ट हुन आउँछ ।
अत: पंचबुद्धका मूर्तिहरू भएका चैत्यहरू वज्रयानको प्रचार प्रसार खुल्ला रूपमा भएपछि मात्र प्रकाशमा आएका हुन्, निर्माण भएका हुन् भन्न हिचकिचाउनु पर्दैन होला ।
कुल दत्त आचार्यको क्रियासंग्रहमा भने यसरी चैत्यको चारै दिशामा प्रतिमागृह, भद्रपीठ (खोपा) राखी चैत्य बनाउनुको उद्देश्य धर्म, आमिष, अभय, मैत्री गरी यी चार दानहरूको विशुद्धिलाई मानेका छन् । अतः यसबाट के अवगत हुन्छ भने टेकुदुवान, चावहिल महांकाल स्थान, मुंसुवहाल, तेवहाल आदि स्थानमा उपलब्ध ४, ८, १२, १६ संख्यामा भद्रपीठ (खप्वाः) भएका तह तह वेदीहरू युक्त चैत्यहरू पनि यस्तै बौद्ध दर्शनको महनीय पक्षलाई समेतेरै बनाइएको हुनुपर्छ ।
त्यति मात्र होइन, कुल दत्त आचार्यले वेदीमा राखिएका चारमुख यानी चारद्वार३१ आकारका भद्रपीठ जस्तो देखिने कुरा चतुआर्यसत्यको विशुद्धि अनुरूप राखिन्छ भनी व्यक्त गरिएअनुसार पनि बुद्ध धर्मका दार्शनिक पक्ष वसती शून्यता, दश पारमिता, दश कुशल आदि लाई पनि ती कहीं गोल त कहीं लाम्चो भद्रपीठले व्यक्त गर्न खोजेका होला भन्ने अनुभूति हुनु अस्वाभाविक छैन । धामेख चैत्य र बोधगया चैत्यको समय देखिनै यसरी खोपा भएको चैत्यको प्रचलन चलेको हुनुपर्छ ।









