
सिरहा । सिरहाको गोलबजारमा हालै भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ । गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दै छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।
टोलीले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा उपलब्ध सूचनाहरू संकलन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, पीडित पक्ष र अन्य सरोकारवालासँग छलफल गरिरहेको जनाएको छ । घटनाको वास्तविक कारण, परिस्थिती र जिम्मेवारीबारे निष्पक्ष तथा वस्तुनिष्ठ ढंगले अध्ययन गरी प्रतिवेदन तयार पारिने बताइएको छ ।
गृह मन्त्रालयले छानबिनलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरिने जनाएको छ । टोलीको प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ ।
गोलबजार घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सरकारले घटनाको निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउने उद्देश्यले उच्चस्तरीय छानबिन टोली खटाएको हो ।


