
विराटनगर । नेपाल प्रहरीको एक टोलीले सोमबार झिसमिसै औद्योगिक घराना देवेनारा ग्रुपका उद्योगीको विराटनगरस्थित निवासमा छापा मार्यो ।
तर, उद्योगीका घर र कार्यालयमा ‘कानुनविपरीतका सरसामान रहेको’ भन्ने ‘गोप्य सूचना’का आधारमा पुगेको प्रहरी टोली रित्तै हात फर्किएको छ ।
बिहान ५ पाँच बजेतिर मोरङको विराटनगर महानगरपालिका–७, मेघराजमार्गस्थित घरमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रले खोजीका क्रममा कुनै गैरकानुनी सामग्री फेला नपरेको जानकारी दिए । उनले भने, “यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राख्नेछ ।”
प्रहरीले घेरा हालेर देवकिसन मुन्दडाको घरमा खानतलासी गरेको थियो । त्यसनिम्ति जिल्ला प्रहरी कार्यालय मोरङबाट १०० भन्दा धेरै संख्यामा प्रहरी खटिएका थिए ।
प्रहरी टोलीले करिब साढे चार घण्टा घरभित्र र कार्यालयमा ‘सर्च’ गर्यो । उद्योगी मुन्दडाले प्रहरीले घरका कोठाचोटादेखि कार्यालयका दराज सबैतिर खानतलासी गरेको बताए । उनले बाह्रखरीसित भने, “प्रहरी टोली आफ्नो काम गर्न आएको थियो, तर केही पनि वस्तु फेला पार्नु भएन ।”
देवेनारा समूहका मुख्य सञ्चालकका रूपमा मुन्दडा दाजुभाइ र परिवारका अरू सदस्य छन् । समूहका एक सदस्य एवं उद्योगी प्रकाश मुन्दडा विराटनगरमा औद्योगिक क्षेत्रको नेतृत्वमा समेत सक्रिय छन् । उनी मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष हुन् । हाल नेपाल उद्योगी परिसंघ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष छन् ।
