
काठमाडौँ। शान्ति नीहारिकाको दोस्रो कृति ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक भएको छ ।
प्रमुख अतिथिमा प्रा.डा. देवी नेपाल,शकुन्तला जोशी,रेणुका सोलु,शान्ति शर्मा,शान्ति नीहारिका लगायतले उक्त कृति लोकार्पण गरे ।
राष्ट्रिय नाचघरमा दियालो साहित्य सरगमले आयोजना गरेको कार्यक्रममा कृति ‘पृथुला’ माथि कवि शकुन्तला जोशीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेकी थिइन् । उनले भनिन्, ‘शान्ति निहारिकाको कवितामा संघर्ष, नोस्टालजिया र विद्रोह आएको छ ।’
सोही कार्यक्रममा नीहारिकाका गजलहरूको एकल सांगीतिक प्रस्तुति ‘नीहारिका गजल गुञ्जन, २०८३’ समेत आयोजना गरियो ।
‘नीहारिका गजल गुञ्जन, २०८३’ मा सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक राजकुमार सुन्दास तथा गायिका जलजला परियारले सुमधुर प्रस्तुति दिएका थिए ।
शान्ति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेम प्रभास, रिमा केसी तथा एमपि पाण्डेले कविता वाचन गरेका थिए । त्यसैगरी साहित्यकार बलराम दाहाल, सर्जकका काका भविन्द्र खत्री, रेणुका सोलु तथा लेखक एवं सञ्चारकर्मी रोहित भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

