
काठमाडौं । नेकपा (एमाले) ले आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
एमाले महासचिव शंकर पोखरेलद्धारा हस्ताक्षरित अपिल मार्फत उक्त माग गरिएको हो ।
राजावादीहरूको शुक्रबारको प्रदर्शन हिंसात्मक बनेपछि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेले अपिल पनि गरेको छ।
‘आज पूर्व राजावादीहरूको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ।’

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने,सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने,जानी–जानी हिंसा र आतंकलाई दुरूत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’ पार्टी महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैगरी विज्ञप्तीमा आजका अपराधिक क्रियाकलापमा संलग्नहरुलाई तत्काल कानूनी दायरामा ल्याई शान्ति सुरक्षा प्रवन्ध गर्न सरकारसँग माग गरिएको छ।


