
कविता
भ्यूटावर
छविरमण सिलवाल
जहाँ अग्ला पहाडहरु छन्
त्यहाँ ठडिन्छन्
अग्ला भ्यूटावरहरु
र, नव माहाराजहरुले
त्यो भ्यूटावरबाट
के नियाल्छन् होला ?
खाली वस्तीहरु
बाँझो खेत र बारीहरु
र, मलामी कुरिरहेको लास ।
अरु कति देख्छन् या देख्दैनन्
आफन्तको माया बन्धकी राखेर
देशका ढुकढुकीहरुको
हवाईअड्डामा लागेको भिड्
रोजगार नपाएर छट्पटिएका
निराश अनुहारहरु
सम्बृद्धिको खोजीमा
भौतारी रहेका भोका पेटहरु
परदेशमा सग्लो शरिर त्यागेर
बक्समा प्याकिङ भएको
एउटा निर्दोष जीवन ।
उपचार गरेको पैसा तिर्न नसकेर
अस्पत्तालमै जीवन समाप्त पारेको
होनहार युवाको अनुहार ।
व्यापार चल्न नसकेर सडकमा
आत्मदाह गरिरहेको मान्छेको मुहार
खाद्यमल र बिउबिजन कुर्दाकुर्दै
आफ्नो बिग्रेको बाली
सुम्सुम्याई रहेको किसानको मलिन अनुहार
खै देख्छन् या देख्दैनन् होला
नव महाराजहरुले
आफैले बनाएको भ्यूटावरबाट ।
देख्नेहरुले त भ्यूटावर नचढिकनै
देखिरहेका छन् भुइँमान्छेका पीडा ।
महाराजहरुले देख्ने भनेकै
चप्पलको यात्राबाट
महल ताकेको
पैदलबाट आधुनिक बहान ताकेको
आफन्तको सम्बृद्ध अनुहारहरु
र, सम्बृद्धताको फोस्रा आस्वासन ।
हुनतः आफ्नैै दुःखले
बनाएको भ्यूटावरबाट
आफ्नै सम्बृद्धि देख्ने हो,
अरुका सम्बृद्धि कहाँ देख्ने हो र ?
त्यो त अलिसान महलमा बसेर
कागजमा लेख्ने न हो ??








