
शर्मिला कार्की ‘शरु’
मुक्तकहरु
१.
फूलसँग प्रसन्न भै हासूँ हासूँ लाग्यो
सौन्दर्य यो हृदयमै टासूँ टासूँ लाग्यो
अन्तरमनमा प्रकृतिले खै के भरिदयो ?
साँच्चै दिगो हुने प्रीति गासूँ गासूँ लाग्यो !
२.
यिनै ढुङ्गा , यही माटो , यिनै दृश्य हेर्न पाऊँ
नेपाल आमा ! तिमीलाई हृदयमै बेर्न पाऊँ
जन्मभूमि तिम्रै काखमा मेरो अन्तिम सास जाओस्
पुनर्जन्म भए यहीं अर्को जुनी फेर्न पाऊँ !
३.
तेरो पंख दे न चरी भुर्र उड्न सकूँ
पिरतीको सगरमाथा छुन पुग्न सकूँ
मन सँग मन मिलोस् तन सँग तन
आनन्दको तलाउमा पुरै डुब्न सकूँ !
४.
सत् बाट असत् तिर झार्छ अहङ्कारले
नाफा होइन घाटा मात्रै पार्छ अहङ्कारले
जितें भन्ने बोध पनि होला एकै छिनलाई
तर सारा जिन्दगी नै हार्छ अहङ्कारले !
५.
सधैंभरि कामको धमाधम छ,अभाव उस्तै छ
अभावमाथि तिरोभरोको पनि दवाव उस्तै छ
कतै घट्ला कमी होला भन्ने आशा लाग्नै छोड्यो
यो निष्ठुरी समयको खरो प्रहार र प्रभाव उस्तै छ !
पोखरा-१








