
बनेपा,काभ्रे । नेपाल कम्युनिष्ट पार्टी एमाले काभ्रेपलाञ्चोकको चौथो पूर्ण बैठकले तीन महिने वडा केन्द्रित अभियानको अभिमुखीकरण र काभ्रेपलान्चोक जिल्ला कमिटीको चौथो पुर्ण बैठक सम्पन्न भएको हो।
केन्द्रीय सदस्य तथा क्षेत्र नम्वर १ का इन्चार्ज रेशम लामा, प्रदेश कमिटीका नेताहरु, सल्लाहकार कमिटी, लेखा कमिटी, पालिका कमिटीका अध्यक्ष तथा कार्यवाहक अध्यक्ष, जिल्ला कमिटी सदस्यहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यता, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष राजन भूर्तेलले गरेका थिए ।

तीन महिने वडा स्तरीय अभियान, अभियानमा गरिने कार्यक्रम तथा त्यसको जिम्मेवारी सहितका एजेन्डा प्रस्तुत गर्दै जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलले तोकिएको समयमा जिल्लाका १३ वटै पालिकाका १ सय ३५ वटा वडा र टोल कमिटीहरुमा अभियान संचालन गरिसक्ने बताए ।

कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले एमाले नेतृत्वको सरकार, सरकारले गरेका सुशासन तथा विकास निर्माण र आगामी योजना, समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन निरन्तर जनताको काममा लाग्न नेतृत्वलाई निर्देशन दिए ।आगामी २०८४ मा हुने तीन तहकै निर्वाचनमा नेकपा एमालेले शशक्त उम्मेदवार तय गर्न, जनताको मन जित्ने गरी अहिलेका जनप्रतिनिधिहरुले काम गर्न र पार्टी कमिटीहरुलाई चुस्त, दुरुस्त बनाउन निरन्तर सक्रिय रहन नेता भट्टराईले निर्देशन दिए ।
नेकपा एमालेका जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमालेसँग मात्रै काभ्रे जिल्लाको समृद्ध बनाउनसक्ने खाका भएको बताए । उनले एमाले सत्तामा रहँदा र सत्ताको नेतृत्व गर्दा विकास निर्माणको अभियानलाई तिब्र बनाउँछ र बाहिर हुँदा निरन्तर आवाज मुखरित गर्ने भन्दै स्पस्ट खाका र खाका अनुसारको बजेट विनियोजनमा नेकपा एमालेका जनप्रतिनिधिहरु सक्रिय रहेको उनले बताए ।
उपाध्यक्ष देवसागर लामाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजकुमार सापकोटाले गरेका थिए ।

