
कविता
प्रकाश सापकोटा
किन ?
किन !
अराजक छ दुनियाँ
अकर्मण्य छ मानवीयता
अस्थीर छ भूमण्डल
अक्षुण्ण छ बेथिति
थाह छैन, किन !
बतास जस्तो छैन बतास
प्रकाश जस्तो छैन प्रकाश
आशाका वृक्षहरूमा
निपात भएका छन् पातहरू
शुभाभिलाषी शीतकणका
खग्रास भएका छन् निवासहरू
आहारको विहारमा निस्केको पंक्षी
चुच्चोमा प्राण च्यापेर फर्किँदा
खण्डहर भएका छन् गुँडहरू
सन्त्रासका अणु बमहरूले
गर्भमै नामेट हुँदैछन् भ्रूणहरू
थाह छैन किन !
घर जस्तो छैन घर
खुट्टैको छैन भर
किन ?
लोप भए अर्निथोपोडसहरू
हराए बुटवलपिथेकसहरू
नफर्किने गरी गए
नदी झैँ ओह्रालो बगेकाहरू
‘बाँच्नका लागि संघर्ष’ सिकाउने
विरबहादुर सरको घाँटीमा
कसरी लाग्यो पासो- निराशाको ?
केले छिनाल्यो गर्धन- आत्मबलको ?
थाह छैन किन !
स्वार्थविहिन छैन सेवक
घामजूनमै छैन चमक
किन ?
सिद्धिन खोजेका हामी
मेटाउन खोजेका अस्तित्व
थुन्न थालेका मुहान
खन्न थालेका चिहान
किन ???
डेनमार्क









