
पुराना पुस्तक
कृति : इतिहास निफनेर
विधा : कवितासंग्रह
कवि :धनकुटे कान्छा
कविता मार्फत आफू बाँचेको युगको समयको तस्बिर खिच्न सक्षम छन् कवि । कवितामा सम्पूर्णता खोज्ने कवि कवितालाई औधी माया गर्छन् । विसंगत समयप्रति सचेत छन् र विसंगतिपूर्ण समाजका चरित्रहरुप्रति कटाक्ष गर्छन् । मानव कर्तव्यच्यूत हुँदै गएकोमा दुख व्यक्त गर्छन् । यस्ता कुराले पीडावोध गरेका कवि कविता मार्फत पोख्छन् ।
सुन्दर बिम्बहरु,सकारात्मक सोचका अभिव्यक्तिहरुले कविता भरिएका छन् । कवितालाई मनैदेखि कोर्ने कविको इतिहास निफनेर कृतिलाई याम्बुरी बुक प्वाइन्टले पहिलो पटक वि.सं२०७० मा प्रकाशनमा ल्याएको हो ।
कृति : दुखेको घाउ
विधा : कथासंग्रह
कथाकार: ललिता दोषी
नारीका पीडा,उनीहरुका कथाव्यथा र भोगाईहरुको फेहरिस्त लाग्छन् कथाहरु । नारी उत्पीडनका व्यथाहरु कथाहरु मार्फत सजीव ढंगले उतारिएका छन् । नारीका त्याग र वलिदानका कुराहरु सत्यापन भएका छन् । उनीहरुका समर्पण भावहरु अभिव्यक्त भएका छन् । यसमा १४ वटा कथाहरु समावेश भएका छन् । समाजका विकृति र विसंगतिहरुको कथाहरुले उजागर गर्छन् । समाजका विविध पक्षहरु कथाहरुले प्रकट गरेका छन् ।
सरल भाषाशैली,छोटा कदका संरचनामा कथाहरु बुनिएका छन । दुखेको घाउलाई पहिलो पटक वि.सं.२०६० सालमा विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको हो ।
कृति : हिमचुली रक्तिम छ
कृति : कवितासंग्रह
कवि : मोहन कोइराला
एक वर्षको अबधिभित्र विषयगत विविधतामा रचिएका कविताहरु यस कृतिमा समावेश गरिएको छ । गाउँघरका परिवेश,विकास र सम्वृद्दि,प्रकृतिप्रेम,मानिसका समस्या लगायतका विषयगत विविधतामा कविता आएका छन् । यस कृतिमा २१ वटा कविताहरु समावेश गरिएको छ । उतिबेलाका कवितामा नयाँशैली प्रयोग गर्न खोजिएको छ ।
मोहन कोइरालाको हिमचुली रक्तिम छलाई नेपाल प्रज्ञा प्रतिष्ठानले वि.सं.२०३५ सालमा प्रकाशन गरेको थियो ।








