
चर्चामा पुस्तक
मौन अक्षरका सुस्केरा
आख्यानको कान्छो विधा मानिन्छ लघुकथालाई । लघुकथामा निरन्तर लागिपरेका स्रष्टा डा.शेखरकुमार श्रेष्ठको नयाँ लघुकथा कृति हो ‘मौन अक्षरका सुस्केरा’ । झट्ट पढ्दा दार्शनिक चेतले भरिपूर्ण लाग्ने,समसामयिक समयलाई टपक्कै टिपिएका कथानकतामा बुनिएका लघुकथा यसमा छन् । कथाका पात्र यहि समाजका उपज लाग्छ । विषय,परिवेश सबै हाम्रा वरपरबाटै लिइएका देखिन्छन् । विषय विविधाका ६१ थान लघुकथाहरु यस कृतिमा पढ्न पाइन्छ ।मानावतावाद,प्रकृतिवादले ओतप्रोत कथा पनि यसमा समावेश छ ।
सरल कथानकता र दार्शनिक चेतयुक्त दुबै भएका कथाहरुले कृति भरिएको छ । सरल भाषाशैली,बिम्बात्मकताले भरिपूर्ण कथाहरु यहाँ छन् । गहिरो भावमा अभिव्यक्त गर्नु कथाकारको विशेष खुवी लाग्छ । कतिपय कथाहरु सन्देशप्रद देखिन्छन् ।
मौन अक्षरका सुस्केरालाई हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएको हो ।
उज्यालो औँसी
जीवनीपरक जस्तो लाग्ने,आफ्नै भोगाई पस्केको भान पर्ने,समाजको विद्रुप बास्तविक चित्र उतारिएको उपन्यास लाग्छ उज्यालो औँसी । यसमा अलिक लामो कालखण्डको कथा राखिएको छ । पढ्दा वियोगान्तक लाग्ने,दुखान्त कथानकता देखिने प्रस्तुत उपन्यासको सुखद रुपमा अन्त्य गरिएको छ । उपन्यासकारले कृतिका पात्रहरु प्रति न्याय गरेको देखिन्छ । यूगिनदेखि चल्दै आएको पितृसत्तात्मक सोचले ग्रस्त नेपाली समाजको वास्तविकतालाई सत्यापन गर्न उपन्यास सफल भएको छ । यो उपन्यास नारीहरुको उत्थानमा केन्द्रीत भएर लेखिएको देखिन्छ ।
सरल भाषाशैली प्रयुक्त गरिएको,विभिन्न उपकथाहरु समेत उल्लेख गरिएको,विभिन्न अलग थलग पात्रहरुको चरित्रको सजीव चित्रण गरिएको श्वैरकल्पनाको मज्जैले प्रयोग गरिएको छ ।शिर्षक नै बडो बिम्बात्मक छ ।
अनिता कोइरालाले लेखेको उज्यालो औँसी उपन्यासलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।
सन्त्रासका साठी दिन
सन्त्रास कस्तो हुन्छ,सन्त्रासमा बाँच्ने अबस्था आउँदा मान्छेको मनोदशा के हुन्छ भन्ने बारेमा लेखिएको उपन्यासमा निर्दाेष व्यक्तिलाई आफ्नै साथीभाइद्धारा फसाइएको कथा पढ्न पाइन्छ । लुकेर बस्नुको मनोदशा कस्तो हुन्छ भन्ने कुरा सरलकुमार मार्फत दृश्यपान गर्न सकिन्छ यसमा ।
वर्तमान समयमा सहकारी क्षेत्रमा आएका वेथिति र समस्यालाई पनि यसले समावेश गरेको छ । सहकारीमा समस्या किन आयो भन्ने बारेमा उपन्यासले प्रष्ट पारेको छ ।’जहाँ असत्यको खेलमा सत्य लुकाइन्छ,त्यहाँ न्यायको आशा गर्नु व्यर्थ’ हुन्छ भन्ने भावमा उपन्यास देखिन्छ ।
झट्ट हेर्दा प्रयोगवादी जस्तो लाग्छ उपन्यास । हाम्रै वरपरको कथानकतालाई टिपेर सुन्दर ढंगले उपन्यासमा पोखेका छन् ।
थोरै शब्दमा धेरै कुरा व्यक्त गर्नसक्नु उपन्यासकारको खुवी लाग्छ । कवितात्मक बान्की पनि देखिन्छ कतै,बिम्ब र प्रतिकहरुको बेजोड प्रयोग पाइन्छ धेरै । नविनता लाग्छ शैली ।
उपन्यासकार रोशन थापा ‘नीरव’को उपन्यास सन्त्रासका साठी दिनलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।









