
काठमाडौँ। पाँचौं सेटसम्म प्रतिस्पर्धा गरे पनि नेपाल पाकिस्तानमा भएको काभा मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ।
पाकिस्तानको इस्लामाबादमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाली टोली आफूभन्दा माथिल्लो वरीयताको कजाखस्तानसँग ३–२ को सेटमा पराजित हुन पुग्यो। दुई सेटले पछि परेको स्थितिमा पुनरागमन गर्ने संकेत गरे पनि नेपाली टोलीले सफलता पाउन सकेन। निर्णायक तथा पाँचौं सेटमा लय गुमाएपछि हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीले हारबाट सुरुआत गर्यो। यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को विश्व वरीयता गणना हुने प्रतिस्पर्धा हो। हारका बावजुद नेपालले विश्व वरीयतामा उल्लेखनीय सुधार गरेको छ। नयाँ विश्व वरीयताअनुसार नेपाल ८४औं स्थानमा उक्लिएको छ। नेपालले १३९औं स्थानबाट सुधार गरेको हो।
तर, सिंगल राउन्ड रोबिन प्रणालीका आधारमा भएको च्याम्पियनसिपमा नेपालले जित निकाल्न सकेन। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले सुरुआतका दुई सेट क्रमशः २५–१९ र २५–२१ ले गुमायो। यससँगै नेपाली टोलीले सोझो सेटमा खेल गुमाउने अनुमान गरिएको थियो तर यसपछि भने नेपाली टोली लयमा फर्कियो। लगातार तेस्रो र चौथो सेट आफ्नो बनाएपछि नेपालको जित आशा पलायो। तेस्रो सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। अन्ततः नेपालले तेस्रो सेट ३४–३२ ले रोमाञ्चक रूपमा आफ्नो पक्षमा पार्यो तर चौथो सेट भने नेपालले २५–१८ ले सहजै जित्दै खेलमा पुनरागमन गर्ने संकेत देखायो। यद्यपि, आफूभन्दा अनुभवी कजाखस्तानसँग नेपाल निर्णायक पाँचौं सेटमा समालिन सकेन।
यो सेट कजाखस्तानले १५–९ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो। हार बेहोरे पनि नेपाली पुरुष भलिबल टोलीले वरीयता सुधार गर्नु उपलब्धिपूर्ण बन्यो। यस च्याम्पियनसिपमा नेपाल र कजाखस्तानसहित आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्।
पाकिस्तानमा आयोजना भएपछि भारत भने यो च्याम्पियनसिपमा सहभागी भएन। अफगानिस्तानले भने भिसा नपाएपछि च्याम्पियसिप खेल्न पाएन। सुरुआतमा १० टोली सहभागी हुने भनिए पनि माल्दिभ्स र किर्गिस्तान पनि सहभागी भएन। नेपालले बिहीबार श्रीलंकासँग खेल्नेछ। नेपालले दोस्रो खेल बिहीबार श्रीलंकासँग, तेस्रो खेल शुक्रबार पाकिस्तानसँग, चौथो खेल आइतबार बंगलादेशसँग र लिग चरणको अन्तिम खेल सोमबार उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ।

