
काठमाडौँ। अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ।
यसपटक इरानका खुजेस्तान, बुसेहर, होर्मोज्गन र इलाम प्रान्तका धेरै स्थानमा क्षेप्यास्त्र र हवाई हमला गरिएको हो।
इरानी अधिकारीहरूका अनुसार धेरैवटा सैन्य अड्डा र रणनीतिक क्षेत्रमा आक्रमण गरिएको हो।
जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरानविरुद्ध युद्ध सुरु गरेको पाँच महिना बितिसक्दा पनि इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) अझै घातक क्षति पुर्याउन सक्षम रहेको देखिएको छ ।
गत शुक्रबार भएको उक्त आक्रमणपछि मार्च १ यता पहिलोपटक इरानी आक्रमणमा अमेरिकी सैन्य अड्डामा तैनाथ अमेरिकी सैनिकको मृत्यु भएको हो । मार्च १ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको केही घण्टामै इरानले अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो ।
यद्यपि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने आक्रमणबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । विश्लेषकहरूका अनुसार यो घटनाले एउटा असहज वास्तविकता उजागर गरेको छ । लगातार अमेरिकी हवाई आक्रमणका बाबजुद पनि इरानसँग दीर्घकालीन असीमित युद्ध जारी राख्न आवश्यक सैन्य क्षमता अझै कायम छ ।
