
काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए ।
सहायकमन्त्री लुले नेपालमा रहँदा विभिन्न परियोजना अवलोकन र कार्यक्रमहरुमा सहभागिता समेत जनाएका थिए ।
उनले नेपालको विकास निर्माणमा अमेरिकी सहयोग निरन्तर रहिरहने उल्लेख गर्दै नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियाका बारेमा चासोसमेत व्यक्त गरेका थिए ।
सहायक विदेशमन्त्री लुले नेपालको समृद्ध सांस्कृतिक सम्पदाका रुपमा रहेको भक्तपुर क्षेत्रको भ्रमण पनि गरेका थिए ।





