
हिउँको काव्य
ज्ञानेन्द्र विवश
हिउँले भरिएको कडा पत्थरको अग्लो चुचुरो हिउँको काव्य हो । यसले सधैँ मलाई काव्यिक सौन्दर्यहरूको मुर्छनाहरूमा चुपचाप चञ्चल बनाउँछ । म हिउँको काव्यमा कल्पनातीत अनुभूतिको गहिराइमा डुब्दै जान्छु ।
मलाई लाग्छ, हिउँको काव्यः सौन्दर्यको अवर्णनीय अनुभूति हो ।
जीवनमा कतिपय अनुभूतिहरू शब्दको सीमामा बाँधिन सक्दैनन् । ती अनुभूतिहरू कुनै दृश्य, ध्वनि वा गन्धका रूपमा आउँछन् र हृदयको गहिराइमा मौन तरलताको रूपमा ओर्लन्छन् । हिउँले भरिएको कडा पत्थरको अग्लो चुचुरो यस्तै एक काव्य हो, जसले प्रकृतिको मौनताको भाषा बोल्छ ।
चिसो हावाको स्पर्श, चुचुरोमा जमेको हिउँको उज्यालो छटा, अनि निस्पन्दता– यी सबैले आत्मालाई एक विशेष प्रकारको शान्ति प्रदान गर्छन् । हिउँको सफा, चोखो सौन्दर्य हेर्दा मनमा स्वतः एउटा अलौकिक भाव सञ्चार हुन्छ । यो सौन्दर्य केवल आँखाले देख्ने होइन, हृदयले महसुस गर्ने कुरा हो ।
जब म हिउँको काव्यमा हराउँछु, लाग्छ कि म कुनै अलौकिक संसारमा छु । यो संसार ध्वनि, कोलाहल, मौनताको संगीत छ । यसले मलाई आफ्नै गहिराइमा डुब्न बाध्य बनाउँछ । जीवनका संघर्ष र पीडाहरूलाई केही समयका लागि भए पनि भुल्न दिने हिउँको काव्य एक प्रकारको ध्यानजस्तै लाग्छ ।
हिउँको काव्य प्रकृतिसँगको सम्बन्ध होइन, यो हाम्रो आफ्नै आन्तरिक भावनासँगको संवाद पनि हो । हिउँको कठोरता, त्यसको उज्यालोपन अनि त्यसको मौनताले जीवनका कठिन क्षणहरूको प्रतिनिधित्व गर्छ । हिउँको प्रत्येक चमकले जीवनमा आशाको किरण दिने प्रयत्न गर्छ ।
यसरी, हिउँको काव्य केवल बाहिरी दृश्यको प्रशंसा होइन, यो हाम्रो आन्तरिक संसारको सुन्दरता र त्यसको अव्यक्त भावनाहरूको प्रतिबिम्ब हो । हिउँको अग्लो चुचुरोले हामीलाई सन्देश दिन्छ– उचाइ र गहिराइको महत्व बुझ्न । यो सन्देश एक काव्य हो, जसलाई बुझ्न शब्दको होइन, हृदयको आवश्यकता हुन्छ ।
हिउँको काव्य, वास्तवमा, जीवनको काव्य हो । यसको प्रत्येक शब्द, प्रत्येक भावना, अनि प्रत्येक मौनता– सबैले हाम्रो जीवनलाई परिष्कृत गर्न योगदान पुर्याउँछ । यो प्रकृतिको अनमोल उपहार हो, जसलाई अनुभूत गरेर हामी हाम्रो आत्माको गहिराइसम्म पुग्न सक्छौँ ।
निष्कर्षमा, हिउँको काव्यले हाम्रो मनलाई शुद्ध, हृदयलाई कोमल र आत्मालाई विशाल बनाउँछ । यो काव्य हरेक व्यक्तिका लागि फरक रूपमा प्रकट हुन सक्छ, तर यसको सौन्दर्य सधैं शाश्वत र अटुट रहन्छ ।
हिमालको थाप्लामा चढ्दै हिउँको पहिलो स्पर्श हातले अनुभूत गर्छ, त्यतिखेर मुटुमा चिसो हावाको सिरसिर आवाजले कविता लेख्छ । हिउँले छोपिएको भूमि कुनै सेतो कालीनजस्तो लाग्छ, जहाँ प्रत्येक पाइला एउटा नयाँ कथा र प्रत्येक हिउँको कण एउटा अनन्त अनुभूतिको काव्य हो ।
हिउँ आफैँ प्रकृतिको अनुपम उपहार हो, जसले केवल आँखालाई मात्र होइन, हृदयलाई पनि शीतल बनाउँछ ।
हिउँका फुलजस्ता पातला कणहरू जब जमिनमा ओइरिन्छन्, त्यतिबेला प्रकृतिले आफ्नो सृजनात्मकता देखाउँदै नयाँ क्यानभास तयार गर्छ । यस्तो देखिन्छ, मानौं, आकाशबाट स्वर्गका देवताहरूले सेता फूलको वर्षा गरिरहेका छन् ।
हिउँ खेल्ने, हेर्ने र स्पर्श गर्ने चाहनाले मानिसलाई साहसिक यात्रा गर्न प्रेरित गर्छ । कठिन उकालो र चिसो हावाको बेगलाई जितेर जब हिउँको सेतो साम्राज्यमा पाइला राखिन्छ, तब जीवन आफैँलाई धन्य ठानिन्छ ।

हिउँमा खेल्न पाउनु रमाइलो मात्र होइन । यो एक पृथक अनुभव हो । यसले मानिसलाई जीवनको विभिन्न पक्षहरूसँग परिचित गराउँछ । हिउँको चिसो छुनु भनेको आत्माको एउटा नयाँ खुट्किलो चुम्नु हो । कहिलेकाहीँ हिउँमा चिप्लँदा, लड्दा र उठ्दा मान्छेले जीवनका कठिनाइहरूलाई सहज रूपमा लिने पाठ सिक्छ ।
हिउँले सिकाउँछ, जीवनको कठिनाइलाई पनि आनन्दमा बदल्न सकिन्छ ।
थुप्रै हिउँप्रेमीहरू सेतो काखमा रम्न हिमाल चढ्छन् । उनीहरू हिउँका फुलसँग खेल्छन्, चिसो जमिनमा आफूखुसी लडिबुडी गर्छन् र मनभरि खुशी संकलन गरेर फर्किन्छन् । हिमपातले ढाकेको भूगोल, त्यसको सौन्दर्य, र त्यसमा खेल्ने अवसरले हिउँप्रेमीहरूलाई कुनै अर्को संसारमा पु¥याउँछ ।
हिउँको सौन्दर्य केवल आँखाले हेर्नका लागि मात्र होइन, यो एउटा यस्तो अनुभूति हो, जसलाई शब्दमा बाँध्न गाह्रो हुन्छ । चिसो हिउँको छालामा अनुभूति गरिने तातो आत्मीयता र आनन्द अद्वितीय हुन्छ । हिउँले मानिसको भित्री भावनालाई छुन जान्छ र जीवनको हर पललाई मूल्यवान बनाउँछ ।
हिउँको सौन्दर्य र यसको स्वप्निल अनुभवले मानिसको जीवनलाई रोमाञ्चित मात्र बनाउँदैन । यसले प्रकृतिसँगको हाम्रो सम्बन्धलाई गाढा बनाउँछ । हिउँसँगको यो अनन्त संवादलाई साहित्यमा काव्य वा निबन्धको रूप दिन सकिन्छ । जब हिउँमा पाइला टेक्छौं, तब केवल प्रकृतिसँग होइन, आफ्नै आत्मासँग पनि भेट हुन्छ । हिउँमा खेल्ने त्यो पल सधैं स्मरणीय र विशेष हुन्छ ।
हिउँ, प्रकृतिको एक अद्भुत कला । यसले आफ्नो सेतो खास्टोले पहाड, मैदान र रुखहरूलाई ढाकेर एक जादुमय संसार सिर्जना गर्छ । सेता र निष्कलङ्क हिउँका पत्रहरू ती प्रकृतिको सौन्दर्य मात्र हुँदैनन् । ती वास्तवमै एउटा गहिरो कविता पनि हुन्छन् ।
यही काव्यमय भावले मनमा उत्स्वको रूप लिन्छ । यो काव्यले शीतको शान्ति, हिमालको गौरव र समयको स्थायित्वलाई आफ्ना कोमल काव्यिक शब्दहरूमा सुस्तरी समेट्छ ।
हिउँ पर्नुका धेरै अर्थहरू छन् । यसले शान्तिको प्रतीक बन्न सक्छ । मानिसहरूको मनमा एकप्रकारको शीतलता र शान्ति भरिन्छ । हिउँका नाजुक फूलजस्तै क्रिस्टलहरू, जब सूर्यको प्रकाशमा चम्किन्छन्, त्यहाँ एउटा नयाँ संसारको झझल्को दिन्छन् ।
यद्यपि हिउँको काव्य भावमा सुन्दरताको कथा मात्र व्यक्त हुँदैन र होइन; यो सहनशीलताको प्रतीक पनि हो । हिमालका अग्ला शिखरहरूले वर्षौँसम्म हिउँको भार सहन्छन् । ती शिखरहरूले आफ्ना यात्रुहरूलाई चुनौती दिन्छन्, जहाँ हरेक पाइला संघर्ष र साहसको प्रतीक हुन्छ । हिउँले जमेको पानी मात्र हुँदैन यो जीवनको परीक्षाको रूप पनि बनिदिन्छ ।
हिउँको काव्य प्राकृतिक चक्रको पनि कथा हो । जब हिउँ पग्लिन्छ, त्यो हिमनदीको रूप लिएर बग्छ । बनजंगल, खेत, फाँट र मानव जीवनलाई उर्वर बनाउँछ । हिउँको यो परिवर्तनशीलता जीवनको अस्थायित्व र निरन्तर गतिशीलताको प्रतीक हो ।
हिउँमा खेल्ने बालबालिकाका हाँसो, हिउँका टुक्रा समातेर नयाँ कल्पनामा हराउने तिनीहरूको सन्देश पनि हिउँको कविताको हिस्सा हो । यो मानव जीवन र प्रकृतिबीचको सम्बन्धको झल्को हो ।
यसरी, हिउँ यौटा मौसमी घटनामय छटासँगै यो प्रकृतिले लेखेको एउटा अमूल्य कविता पनि हो । यसको शान्ति, सुन्दरता र कठोरताले मानिसलाई जीवनको विविधता र गहनतालाई बुझ्न सन्देश दिन्छ । हिउँको काव्य हामी सबैलाई प्रकृतिसँग नजिक हुन र यसको सौन्दर्यलाई अनुभव गर्न प्रेरणा दिन्छ ।
प्रकृतिको मोहक छवि, उसको अप्रतिम शीतलता र हिमाली सौन्दर्यका विविध स्वरूपहरू हृदयदेखि स्पर्श गर्छन् । जीवनको हरेक गति र क्षणलाई आफ्नै रङमा रङ्याउने प्रकृति, सृष्टिको चमत्कार हो । यस्तै एउटा चमत्कार हो हिउँले ढाकेको हिमाल, जसले आफ्ना यात्रुलाई हरेक पाइला, हरेक दृश्यमा नतःमस्तक गराउँछ ।
हिउँले ढाकिएको हिमाल श्वेत पवित्रताको प्रतीकझैँ देखिन्छ । जाडो मौसममा यहाँको चिसोले मानवीय अस्तित्वलाई चुनौती दिन्छ । यही चुनौतीमा लुकेको हुन्छ न्यानोपनको अर्को आयाम । आँखाको डिलमा झुन्डिएका हिउँका कणहरू, बुट्टेदार संरचना बनेर बाटा र पाखामा सजिन्छन् । हिमालको चुचुरोमा झरेका हिमकणहरू सुनौलो घामले चुमेर झन् चम्किन्छन् ।
हिउँ पर्ने मौसममा बाटोघाटो सहज हुँदैनन् । हिउँ र बरफ छुट्याउन नसक्दा मानिसहरू चिप्लिन्छन्, तर त्यो लडाइँमा पनि आनन्द मिल्छ ।
प्रकृतिले दिएको कठोरता र सौन्दर्यको समिश्रणले जीवनलाई सन्तुलन सिकाउँछ । जति जाडो भए पनि हिमालको अडिग मुस्कानले मनभित्रैसम्मको चिसोपन हटाएर नयाँ ऊर्जा दिन्छ ।
हिउँका पखेरा, थाप्ला, खोंच, र भीरहरू, जता पनि अनौठा र आकर्षक रङका विविध संरचनाले आँखा तान्छन् । थकित यात्रीलाई पनि यसले थकाइ बिर्साएर सौन्दर्यमा डुबाइदिन्छ । यहाँको प्रकृतिले मानव हृदयलाई आफ्ना अद्वितीय रचनात्मक स्वरूपहरूसँग एकाकार बनाउँछ ।
लतालहरा र पातपतिङ्गरका अद्भुत संयोजन । प्रकृतिसँग नजिक हुँदा हामीलाई आफ्नो अस्तित्वको एउटा नयाँ परिभाषा भेटिन्छ । सायद यही कारणले मानिस प्रकृतिप्रति सदैव आभारी छ ।
हिमालको विराट रूप, हिउँको चिसो स्पर्श र प्रकृतिको अप्रतिम विविधताले हामीलाई नतमस्तक बनाउँछ । यसले सिकाउँछ– सौन्दर्य कठोरतामा पनि हुन्छ । जीवन कठिनाइमा पनि रमणीय बन्न सक्छ । यही कारणले हिमाललाई नमन गर्न मन लाग्छ । प्रकृतिको यो शीतल प्रेरणा सदा हृदयमा बास गरोस् ।
यसरी नै हिउँको काव्य–सुधाले तृप्त पारिरहोस् ।









