
अन्तरवार्ता
कास्की जिल्ला कास्किकोट -२ मा जन्मनु भएका विष्णु प्रसाद अधिकारी विष्णु पादुकाको नामले नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ । पठन र लेखनमा असाध्यै रुचि राख्ने स्वभावका पादुका कोहलपुर -४, बाँकेका स्थायी बासिन्दा हुनुहुन्छ । पेशाले उहाँ शिक्षक हुनुहुन्छ । उहाँ हाल छार्काताङ्गसोङ्ग गाउँपालिका -४ कागकोट स्थित श्री तेन्जिङ नोर्गे आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्छ । छोटा र चोटिला कविताहरु लेख्ने पादुका साहित्यमा कविता,लघुकथा,गजल,कथा लगायत साहित्यका सबैजसो विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका दुई कविता कृतिहरु साइनो- सुक्ष्म कविता संग्रह (२०७६) र विन्दुको बृत्त -कविता संग्रह (२०७८) प्रकाशित छन् । विभिन्न पत्रपत्रिकाहरुमा उहाँका सबैजसो विधाका फुटकर रचनाहरु थुप्रै प्रकाशित भैसकेका छन् ।
बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट नेपाली कथाकारका ९३७ प्रतिष्पर्धी कथाहरुलाई प्रतिष्पर्धामा पछाडि छोड्दै पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम स्थान हासिल गरी एक लाख नगद राशीको पुरस्कार प्राप्त गरेपछि उहाँ चर्चाको शिखरमा हुनुहुन्छ ।
प्रस्तुत छ उहाँसँग पुरस्कृत कथा लगायत नेपाली साहित्यका विविध विषयमा इ खबर नेटको लागि प्रधान सम्पादक प्रदीप सापकोटाले गरेको संक्षिप्त कुराकानी ।
१. सर्वप्रथम बाह्रखरीको कथा प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेर पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई छ । कस्तो अनुभुति गर्नुभयो प्रथम हुँदा ?
हार्दिक आभार । खुशी लागेको छ । यो स्वभाविक हो । मेरो लेखनलाई विश्वास गरि प्राप्त भएको यो हौसला र प्रेरणाले एउटा जिम्मेवारी थपिएको महसुस भएको छ । एउटा लेखकका लागि पुरस्कार पाउनु थप गुणस्तरीय लेखनमा अघि बढ्नु भन्ने गहिरो सन्देश पनि हो ।
२.तपाईको साहित्य लेखनीको प्रारम्भ कसरी भयो ?छोटो जानकारी पाउँ न ?
उसो त विद्यालय तहमा पनि कहिलेकाहीँ लेखियो । तर स्पष्ट यादमा छैनन् । क्याम्पस पढ्दा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा पुष्पलता नामक भित्ते पत्रीकामा मुक्तक गजल र लघुकथा लेखेर रहर मेटाएको थिएँ ।
३. कथा लेखनीमा तपाइको प्रवेश कसरी भयो ?
कोहलपुरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान भन्ने संस्था छ । जहाँ म नियमित कथा , कविता , निबन्ध आदि लेखिरहन्थेँ । नेपालगन्ज पोस्ट , मिसन टु डे दैनिक कोहलपुरमा पनि लेखेँ । साहित्य पोष्ट अन्लाईनले पनि पनि एउटा ठूलो प्लेटफर्म दिएको थियो र छ ।
४ तपाईको विचारमा के भयो भने एउटा सुन्दर कथा बन्छ ?
कथा यत्र यत्र छन् । हरेक भूगोल , परिवेश अनि प्रत्येक व्यक्तिसँग कथा छन् । त्यसलाई गहन तरिकाले उजागर गर्न सकियो । पाठक माझ ल्याउन सकियो भने त्यो सुन्दर बन्छ कि । कथामा यथार्थपन भयो र काल्पनिकी आंशिक मात्र जोडियो भने त्यो कथाले पक्कै छुन्छ पाठकको मन ।
५.तपाईको यो पुरस्कृत कथा “माग्युद् खोना”को अर्थ बताइदिनुस न ?
माग्युद् खोना डोल्पो भाषीकाबाट टिपिएको हो । लम्बिँदै जाने आमाको बंश भन्ने यसको अर्थ हुन आउँछ । समाजमा नारीले पुस्तौंदेखि भोग्द्रै आएको नियतिलाई कथाको माध्यमले मैले टिपेको हुँ ।
६. यो विषयले यहाँलाई कसरी छोयो र कथा सृजना भयो ?
म त्यहीं सेरोफेरोमा छु । मेरो कर्मभूमी त्यहीँ हो । म जहाँ छु । त्यसैलाई आत्मसात गर्नुपर्ने रहेछ । मेरा रचनामा कर्णाली र डोल्पाको रंग झुक्किएर भए पनि आइदिन्छ । मैले त्यहाँ एक्काइस बसन्त खाए खेलेको हुँदा भूगोल शरीर भरी मनभरी छ जस्तो लाग्छ । यसैले जुन विषयले मलाई छुन्छ त्यही विषयमा कथा लेख्न मन लाग्दोरहेछ ।
७.तपाईको पहिलो कथा कुन हो ? कहिले प्रकाशित भएको थियो ? तपाईका कृतिहरु के के प्रकाशित छन ?
पूर्णिमामा प्रकाशन भएको मसँग अहिलेसम्म सुरक्षित साधना शिर्षकको कथा कथा मात्र छ जुन वि.सं.२०५६ तिर प्रकाशित भएको थियो । साइनो (सुक्ष्म कवितासंग्रह )२०७६ र विन्दुको बृत्त (कवितासंग्रह) २०७८ प्रकाशित छन् ।
८. तपाई साहित्यमा कुन कुन विधामा सृजना गर्नुहुन्छ?
कविता सँगसँगै कथा,निबन्ध अनि उपन्यास लेख्दै छु ।
९.नयाँ के लेखिरहनु भएको छ ?
कथा र निबन्ध ।
१०.वर्तमान नेपाली कथाको अबस्था कस्तो देख्नुभएको छ ? र वर्तमान नेपाली कथाको मुल प्रबृत्ति यहाँलाई के हो जस्तो लाग्छ ?
कथाको अवस्था सुनौलो छ भन्छु म । विश्वको जुनसुकै कुनामा भए पनि लेखनमा सकृय हुन केहिले रोक्दैन । धेरै कथा लेखिँदा राम्रा कथा छानेर पढ्न पनि पाइन्छ । वर्तमानमा लेखिए जति कथा पाठकको आँखामा पार्न अलि कठिन छ । यसका कारण अनेकौं छन् । ब्यस्तता अनि सामाजिक संजाल प्रमुख हुन् । यी अवसर र चुनौती चिर्नु कथाकारको जिम्मेवारी हो ।
नेपाली कथाको मुल प्रबृत्ति यहि भनेर किटान गर्न पनि असहज देख्छु म । समस्या र चुनौती नै आजका कथा हुन् । हामी कथाको त्यो तहमा अझैसम्म पुगेका छैनौं जहाँ पुग्नु छ । भूगोल र परिवेश परिवेश मात्र होइन कथाले कथा भन्न नसक्ने ,बोल्न नसक्ने, र सुनुवाइ नसुनिनेका कथा लेखेर कहिले पो सकिएला र ।
११.अब अलिकति पठन संस्कृतिको कुरा गरौं । नेपाली साहित्यमा पठन संस्कृति घट्दो र लेखन सँस्कृति बढ्दो छ भनिन्छ नि ?
त्यस्तो लाग्नु स्वभाविक हो । यत्रतत्रको ब्यस्तता र सामाजिक सञ्जालले लुटेको छ यो पुस्ताको समय । तर पढ्ने पढिरहने पाठकलाई यो कुराले छुँदैन । समाज निरन्तर परिवर्तनको संघारमा उभिएको हुन्छ । अर्को कुरा हरेक कुराको आयु हुन्छ । यो अवस्थाको पनि निश्चित आयु हुन्छ नै । त्यसैले लेखन र पठनले दुबै चुनौती स्विकार्नुपर्छ । पठनको स्थायी बिकल्प नहोला ।
१२. कुराकानीमा समय दिनुभएकोमा यहाँलाई धन्यवाद । अब अन्त्यमा, मैले सोध्न छुटाएको र तपाईंलाई भन्न मन लागेको केहि भए ?
आफ्ना कुरा संक्षेपमा राख्ने मौका दिनुभयो यसको लागि आभारी छु । हिमाली चिसोले ठिहिर्याएका विषयमा लेख्ने एउटा जिम्मेवारी थपिएको महसुस भएको छ । धन्यवाद ,नमस्कार ।









